काभ्रे । १० जेठ । नेपाली कविताको श्रीवृध्दिमा समर्पित संस्था ‘काव्य-कम्पनी’ले काभ्रेको नालामाथिको पहाडी मनोरम स्थल पिर्के ढुङ्गामा राष्ट्रिय र स्थानीय कविहरूको सहभागितामा कविता-उत्सव सम्पन्न गर्यो ।
कार्यक्रममा १८ कविहरूले कविता, मुक्तक तथा गजल सुनाएका थिए । कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, नवराज उत्साहीले केही गजलका शेर, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशब ज्ञवाली ‘आगत’ले ‘समतुल्य’, नवराज रायमाझीले ‘ट्रान्जिट’, शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’, रञ्जु दाहालले ‘आमा मरेको दिन’ शिव आर्यले ‘दोरदोर’, जुमन किरणले केही मुक्तक, प्रकाश दाहालले अभिनयसहितको कविता, दिनेश खरेलले ‘हराएको कवि’, विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ तथा प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ कविता सुनाएर कार्यक्रममा रौनक ल्याएका थिए ।
समकालीन पुस्ताका चर्चित कविहरूद्वारा कविताको उत्थानमा पृथक् सोचका साथ लागिपर्ने उद्देश्यले स्थापित ‘काव्य-कम्पनीको यो पहिलो औपचारिक कार्यक्रम रहेको यसका एक परिकल्पनाकार आख्यानकार, कवि प्रोल्लास सिन्धुलीयले जानकारी दिए । सिन्धुलीयका साथै नियात्राकार, छन्दकवि रञ्जु दाहाल र गीतकार, कवि विश्व सिग्देलको नेतृत्व रहेको काव्य-कम्पनीको यो अभियान देशभरि बिस्तार गर्दै लैजाने दीर्घकालीन योजना रहेको कवि रञ्जु दाहालले बताइन् । पहिलो सार्वजनिक कार्यक्रम भए पनि कविताकर्ममा वर्षौँ लागेर खारिएका कविहरूले सुरु गरेको यो अभियान परिपक्व रहने कवि सिन्धुलीयले बताए । कविता सुन्ने-सुनाउनेभन्दा ओझेलमा परेका कसबल कविहरूको खोजी आफ्नो संस्थाको मूल ध्येय रहेको उनको विचार थियो । कार्यक्रमको सञ्चालन कवि विश्व सिग्देलले गरेका थिए ।
कुनै बन्द कोठा तथा सभा हलमा नभई प्रकृतिको सुन्दर काखमा गरिएको उक्त कार्यक्रमका लागि कविहरू शेराबाट करिब एक घण्टा ठाडो उकालो पैदलै पुगेका थिए । कविहरूले पिर्के ढुङ्गाको विशाल ढुङ्गामाथि बसेर कविता सुनाइरहँदा कहिले चर्को घाम लाग्ने, कहिले पानी दर्कने क्रम चलिरहेको थियो ।
कार्यक्रमपछि पिर्केढुङ्गा तलको तपस्थलीमा श्रीराम दाहालको नेतृत्वमा प्रारम्भिक स्वरूप बनाइँदै गरेको ‘स्वयम्भू वेदान्त विद्यापिठ’ले सहभागीहरूलाई खाजा खुवाएर विदाइ गरेको थियो ।
९ गते नै नाला पुगेको काव्य-कम्पनी टोलीले सोही साँझ काव्यसन्ध्या गर्दै मध्यरात्रिमा ब्रह्मदेव पार्कसम्मको निशाचर-यात्रासमेत गरेको थियो ।



