शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentस्थानीय तहनगरकोट भ्रमण वर्ष २०८२ : अवसर कि…

नगरकोट भ्रमण वर्ष २०८२ : अवसर कि…

भक्तपुर जिल्लाका चार नगरपालिकाहरूमध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो चाँगुनारायण नगरपालिकाले २०८० सालमै घोषणा गरेको महत्वाकांक्षी कार्यक्रम हो –नगरकोट भ्रमण वर्ष २०८२ । केही दिन अगाडि मात्रै नवौँ स्थापना दिवस मनाएको नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न सहकार्य, समन्वय र प्रचार प्रसारलाई तिव्रता दिएको छ भने आर्थिक वर्ष २०८१/८२ को बजेट बिनियोजनमा नगरकोट भ्रमण वर्ष तयारीका लागि मात्र १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।

विक्रम सम्वत २०८२ साल वैशाख १ गतेदेखि २०८२ चैत्र मसान्तको दिनसम्म नै विविध कार्यक्रमहरू सञ्चालन गरी नगरकोट भ्रमण वर्ष २०८२ मनाइने र सो अवधिमा कम्तिमा १० लाख विदेशी पर्यटक र लाखौं आन्तरिक पर्यटकहरू नगरकोटमा भित्र्र्याई नगरकोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य चाँगुनारायण नगरपालिकाले लिएको छ । ‘नगरकोट इज मोर देन सनराइज एण्ड सनसेट’ अर्थात् नगरकोट सूर्योदय र सूर्यास्त देखिने ठाउँमात्र होइन । नगरकोटमा घुम्ने, रमाउने र सिक्ने कुरा धेरै छन् । यही नाराका साथ आगामी वैशाख १ गते शुभारम्भ हुन लागेको नगरकोट भ्रमण वर्षले चाँगुनारायण नगरपालिकाका नगरवासी र पर्यटन व्यवसायीहरू उत्साहित छन् ।
लामो समयदेखि सुस्त गतिमा चलिरहेको नगरकोटको पर्यटन व्यवसायले नगरकोट भ्रमण वर्षको कार्यान्वयनसँगै सुखद लय समाउने आशा र विश्वास सबैमा छ । कुनै समय राजधानी नजिकको सबैभन्दा उत्कृष्ट र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विश्वव्यापी प्रसिद्धि कमाएको नगरकोटमा केही बाह्य र केही आन्तरिक कारणले गर्दा स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन संख्या घट्दै गयो । अहिले पनि नगरकोटको पर्यटन क्षेत्र ‘जेनतेन चलिरहेको’ अवस्थामा छ भन्दा अत्युक्ति नहोला । यस्तो किन हुन पुग्यो? आउनुहोस् , यसो इतिहासतिर फर्कौं ।
कुनै समय देशको सङ्घीय राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर पूर्वमा रहेको रमणीय स्थल नगरकोट पर्यटकहरूको पहिलो भ्रमण गन्तव्यको रुपमा परिचित थियो । सांस्कृतिक र ऐतिहासिक सहर भक्तपुरबाट जम्मा २० किलोमिटरको दूरीमा पुगिने नगरकोटको आफ्नै क्रेज थियो । समुद्री सतहबाट २०७५ मिटर उचाइमा रहेको नगरकोटबाट सूर्योदय देखिनुका साथै धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्गा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशंखर, ल्होत्से, मकालु र सगरमाथा हिमशिखरहरूको दृश्यावलोकन गर्न सकिने भएकोले यसको विशेष लोकप्रियता र प्रसिद्धि थियो ।

२०६० सालसम्म पर्यटकहरूको घुइँचो लाग्ने नगरकोटमा तत्कालीन संकटकालीन अवस्थाले गर्दा पर्यटकहरु उल्लेख्य रूपमा घट्न थाले । २०६२ साल मङ्सिर ११ गते धान्य पूर्णिमाको रात १२ जनाको ज्यान जाने गरी भएको नगरकोट हत्याकाण्डले नगरकोटको पर्यटन क्षेत्र लगभग मूर्छित अवस्थामा पुग्यो । कहालीलाग्दो र मुटु नै काम्ने हत्याकाण्ड पश्चात सुरक्षाको कारण नगरकोट आउने पर्यटकहरूको संख्या ह्वात्तै घट्न थाल्यो । केही समय पश्चात् बिस्तारै बिस्तारै उकालो चढ्न लागेको नगरकोटको पर्यटन बजारलाई आर्थिक संकट, २०७२ को भुइँचालो, कोभिड–१९ संकट जस्ता कारणहरुले नराम्ररी प्रभावित पार्दै गए । २०७० सालमा भक्तपुर नगरकोट सडकखण्ड स्तरोन्नति गर्ने निर्णय र सडक निर्माणको ठेक्का सम्झौता भएसँगै चाँगुनारायण नगरपालिकाका अधिकांश वडावासीहरूको दुर्दिन सुरु भयो । २०७३ मै सम्पन्न भइसक्नुपर्ने सडक २०८१ को मध्यसम्म पनि ठेकेदार कम्पनीले पूरा नगरेपछि अन्त्य त ठेक्का सम्झौता नै रद्द भयो र अब यो सडकलाई चाँगुनारायण नगरपालिका आफैंले बनाउने तयारी थालेको छ । ११ वर्षसम्म भत्केको सडकमा जोखिमयुक्त यात्रा गर्न बाध्य स्थानीय बासिन्दाहरूको पीडा त आफ्नो ठाउँमा छँदैछ, सडकको दुरावस्थाकै कारण नगरकोट आउने पर्यटकहरु उल्लेख्य रुपमा घट्न थाले र कतिपय पर्यटन व्यवसायीहरु विस्थापित नै हुने अवस्थामा पुगे ।

अहिलेको अवस्था केही सुधारोन्मुख त छ तर सन्तुष्ट हुनेगरी नगरकोटले पर्याप्त पर्यटकहरू पाउन सकेको छैन । ५ दर्जनजति विश्वस्तरीय होटल र रिसोर्टका साथसाथै साना ठूला गरी ३०० भन्दा बढी होटल रेस्टुरेन्ट भएको र प्राकृतिक सौन्दर्यले दुलही झैँ सिँगारिएको नगरकोटलाई पर्यटकीय हब बनाउने उद्देश्यले आयोजना हुन लागेको नगरकोट भ्रमण वर्ष २०८२ चाँगुनारायण नगरपालिकाको एउटा प्रशंसनीय पहल हो ।

पर्यटन प्रवद्र्धनको स्वर्णिम अवसर
नगरकोट भ्रमण वर्ष २०८२ को प्रमुख उद्देश्य नै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु र विभिन्न कारणले सुस्ताउँदै उदाउँदै गरेको पर्यटकीय माहोललाई दीर्घकालीन रुपमै व्यवस्थित गर्नु हो । नगरकोट भ्रमण वर्ष भनिए पनि यो चाँगुनारायण नगरपालिकामा रहेका अन्य धार्मिक तथा प्राकृतिक सम्पदाहरूको प्रचारप्रसार गरी नगरपालिकामा रहेका अन्य सम्पदाहरूको पनि प्रवद्र्धन गर्नु हो । प्रचारप्रसारको सीमितताका कारण चाँगुनारायण नगरपालिकामा रहेका बागेहिटी मन्दिर, तीनतले शिवलिङ्ग, मुहानपोखरी, रानीझुला, नगरकोट जीपलाइन, बाल्मिकेश्वर, मुहानपोखरी–भँगेरीडाँडा पदमार्ग, शान्ति डाँडा, ज्योतिर्लिङ्गेश्वर, भीमेश्वर, कल्पेश्वर महादेव जस्ता आकर्षक र महत्वपूर्ण स्थानहरू ओझेलजस्तै छन् । विश्वसम्पदा सूचिमा रहेको चाँगुनारायण मन्दिरका केही क्षेत्रहरु अहिले पनि जीर्णोद्धारको क्रममै रहेकोले पर्यटकहरुको उपस्थिति त्यति सन्तोषप्रद छैन । भ्रमण वर्षले यी स्थानहरूमा समेत पर्यटकहरूको आवागमन हुने र आर्थिक गतिविधि बढ्ने आँकलन गरिएको छ ।

भ्रमण वर्षको तयारी
चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न विभिन्न तयारीहरु गरिसकेको छ र गरिरहेको पनि छ । चाँगुनारायण नगरपालिकासँग जोडिएका काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिका, काठमाडौँको शङ्खरापुर नगरपालिका र भक्तपुरकै भक्तपुर नगरपालिकाले भ्रमण वर्ष सफल बनाउन चाँगुनारायण नगरपालिकासँग सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाइसकेका छन् । त्यस्तै, उपत्यका मेयर्स फोरमले पनि नगरकोट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने निर्णय गरिसकेको छ । नगरपालिकाका नौवटै वडाका जनप्रतिनिधि, पर्यटक उद्यमी, सहकारी संस्था र अन्य निकायका प्रतिनिधिहरू सम्मिलित भ्रमण वर्ष तयारी समिति समेत गठन भइसकेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न व्यक्ति, संघ संस्था र प्रतिनिधिहरूसँग भेटघाट र अन्तरक्रिया गरी सहकार्यका लागि आह्वान गरिरहेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका तथा स्थानीय सञ्चारमाध्यमहरूमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ । नगरपालिकाका प्रतिनिधिहरु नगरपालिकाको महत्वकांक्षी कार्यक्रमलाई सफल तुल्याउन एक ढिक्का भएका देखिन्छन् । केही दिनअगाडि मात्रै काठमाडौँ महानगरपालिकासँगको समन्वयमा काठमाडौँ – नगरकोट सिधा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारले पनि नगरकोट भ्रमण वर्ष २०८२ लाई प्राथमिकतामा राखेको जनाएको छ । नगरपालिकाका ठाउँ ठाउँमा नगरकोट भ्रमण वर्षका बोर्डहरू देख्न सकिन्छ भने केही स्थानमा पक्की प्रवेशद्वारहरू निर्माण भइरहेका छन् । नगर प्रमुख खत्री र नगरपालिकाका जनप्रतिनिधिहरु नगरकोट भ्रमण वर्षलाई लिएर निकै उत्साहित देखिन्छन् ।

अवसरसँगै चुनौती पनि
नगरकोट भ्रमण वर्षले चाँगुनारायण नगरपालिका र नगरकोटलाई एक आकर्षक गन्तव्यको रुपमा चिनाउने र समग्र नगरपालिकाको पर्यटन उद्योगलाई गतिशीलता प्रदान गर्ने लक्ष्य लिएको छ । यसबाट समग्र नगरपालिका, नगरवासी र उद्यमीहरूको आर्थिक समुन्नतिका लागि एउटा दरिलो आधार निर्माण हुने प्रक्षेपण गर्न सकिन्छ । वर्षैभरि चल्ने यो अभियान एउटा स्वर्णिम अवसर त हुँदै हो तर चुनौतीका चाङ पनि उत्तिकै छन् । बागमती प्रदेशले घोषणा गरेको बागमती भ्रमण वर्ष २०२४ को अवस्था हेर्दा महत्वकांक्षा र प्रचारले मात्र कार्यक्रम र अभियानहरू सफल हुँदैनन् भन्ने देखाइसकेको छ । चाँगुनारायण नगरपालिकाको परिदृश्य भने फरक छ तर महत्वाकांक्षी योजना कार्यान्वयन गरी उद्देश्यमा सफल हुने बाटो भने सरल र सहज छैन ।
नगरकोटलाई सुनसानप्रायः बनाउने प्रमुख कारण भक्तपुर नगरकोट सडकखण्डको त्यही १५ किलोमिटर बाटो हो, जुन अझैसम्म निर्माण सम्पन्न भइसकेको छैन । पटकपटक म्याद थप्दै ११ वर्षसम्ममा पनि ठेकेदार कम्पनीले बाटो बनाउने काम पूरा नगरेपछि केही महिना अगाडि ठेक्का सम्झौता नै खारेज गरियो । बाँकी काम नगरपालिकाले नै गर्नेगरी आवश्यक बजेट पनि विनियोजन भइसकेको छ तर सडकको दुरावस्था उस्तै छ । ठाउँ ठाउँमा खाल्डाखुल्डी र धुलोले गर्दा १५ किलोमिटरको यात्रा दिक्दारलाग्दो र जोखिमयुक्त छँदैछ । यस्तो अवस्थामा यही बाटो प्रयोग गरेर लाखौं पर्यटक नगरकोट आउने जाँगर चलाउँछन् भन्नु हाँस्यास्पद हुन्छ । हुन त साँखु, भत्केपाटी, नाला , ताथली जस्ता ठाउँहरुबाट पनि नगरकोट पुग्ने सडक त छन् तर साँगुरो बाटो, ठाडो उकालो ओरालो र धेरै घुम्ती भएका कारण वैकल्पिक सडकहरू प्रयोग गर्दा पनि उत्तिकै जोखिम छ । नगरकोट पुग्ने भरपर्दो र जोखिममुक्त सडक भनेको भक्तपुर–नगरकोट सडक खण्ड नै हो । भर्खरै टेन्डर आह्वान गरिएको यो सडक खण्ड तत्काल बन्ने अवस्था त छैन तर नगरपालिकाले अल्पकालीन रुपमा सडकको मर्मत सम्भार भने गर्न सक्छ ।
यो लेखमा नगरकोट भ्रमण वर्ष २०८२ लाई एक ’महत्वाकांक्षी’ कार्यक्रम भनिनुमा केही कारणहरू अवश्य छन् ।

वर्षैभरि मनाइने भनिएको भ्रमण वर्ष केही दिनको महोत्सव, सांस्कृतिक कार्यक्रम वा खेलकुद सप्ताह जस्तो सामान्य कार्यक्रम होइन । १२ महिना, ६ मौसम र ३६५ दिन नै सञ्चालन हुने कार्यक्रमको व्यवस्थापन एक चुनौतीपूर्ण काम हो। यसको लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू दिनरात खटिनुको साथै विशेष सक्रियता देखाउनुपर्ने अवस्था आउँछ । यसबाट नगरपालिकाका अन्य प्रशासनिक कामहरु प्रभावित त हुने होइनन् भन्ने संशय पनि उत्पन्न हुन्छ । यसतर्फ नगरपालिकाको ध्यानाकर्षण भएकै हुनुपर्दछ । उपत्यका नजिकका अन्य पर्यटकीय स्थलहरूमा पाइने सेवा सुविधा नगरकोटको तुलनामा सस्ता छन् भन्ने बुझिएको छ । नगरकोटका होटल, रिसोर्ट र रेस्टुरेन्टहरु सञ्चालन गर्ने व्यवसायीहरूले यसतर्फ ध्यान दिई सस्तो र सुलभ सेवा प्रदान गर्नु आवश्यक छ । कम खर्चमै भ्रमण गर्ने उद्देश्य राखेका पर्यटकहरुलाई होमस्टे (घरवास) तर्फ आकर्षित गर्ने कार्यक्रमहरू सार्वजनिक गर्न ढिला भइसकेको छ । नगरकोट र चाँगुनारायण नगरपालिकामा सञ्चालित होमस्टे सञ्चालकहरूले पनि नगरपालिकासँग आवश्यक सहकार्य गरी सस्तो र सुलभ सेवा प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ ।

अबको काम
चाँगुनारायण नगरपालिकाको योजना भएकोले नगरकोट भ्रमण वर्षको सम्पूर्ण दायित्व नगरपालिकाको काँधमा छ । तयारीको लागि अब एक महिनाभन्दा कम समय बाँकी छ । नगरपालिका र अन्य सरोकारवालाहरुले तत्काल गर्नुपर्ने काम सुझावको रुपमा यहाँ राखिएको छ ।
– भक्तपुर नगरकोट सडक खण्डको निर्माणाधीन बाटोमा तत्कालका लागि अति जोखिमयुक्त र धेरै खाल्डाखुल्डी भएको स्थानमा मर्मत संभार गरी सवारीआवागमन सहज तुल्याउने ।
– होटल व्यवसायीहरूले सामूहिक वा संस्थागत रुपमा होटल, रिसोर्ट र रेस्टुरेन्टको स्तर (वर्गीकरण) अनुसार सेवाशुल्क तोकी सार्वजनिक गर्ने ।
– नगरभित्र सञ्चालित होमस्टेहरूले सामूहिक रूपमा आफ्नो सेवाशुल्क निर्धारण गरी सार्वजनिक गर्ने ।
– स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग समन्वय गरी ठाउँ ठाउँमा प्रहरी बिट, ट्राफिक पोष्ट र चेकपोष्टहरू स्थापना गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने ।
– आवश्यक स्थानमा सिसिटिभी तथा सडक बत्तीहरूको प्रबन्ध गर्ने ।
– स्थानीय उत्पादनहरू प्रवद्र्धन गर्न बार तोकी स्थानीय हाट बजारहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
– भ्रमण वर्ष अवधिभर दिनको समयमा नगरपालिका क्षेत्रभित्र ट्रक तथा ट्रिपरहरूको आवागमन रोक्ने ।
– भ्रमण वर्षलाई लक्षित गरी पर्यटकहरूको गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न चौबिसै घण्टा उपलब्ध हुने हटलाइन वा टोल फ्री नम्बर सञ्चालन गर्ने ।
– नगरको सरसफाई र फोहोरमैला व्यवस्थापन प्रभावकारी बनाउने ।
– भ्रमण वर्षको प्रचारलाई राष्ट्रिय सञ्चारका माध्यमहरूका साथै सामाजिक सञ्जालहरू मार्फत तीव्रता दिने ।
– ख्याति प्राप्त कलाकार तथा सर्जकहरूलाई भ्रमण वर्ष प्रचारको लागि आह्वान गर्ने र प्रभावकारी प्रचार गर्ने ।
अहिलेलाई यति गर्न सके नगरकोट भ्रमण वर्षको उद्देश्य र लक्ष्य पूरा हुने आधार तयार हुन्छ । यसका लागि नगरपालिका र सम्बद्द निकायहरु कत्तिको सक्रिय हुन्छन्, आगामी दिनहरुमा देखिने नै छ ।

– शैलपुत्र

1 COMMENT

  1. यो एउटा ठूलो अवसर हो । यही अवसरमा चा.न.पा.लाई भ.न.पा. जस्तै धुवा धुलो मुक्त स्वच्छ सफा बनाऔ । मानव बस्तीमा भएका वायु प्रदुषण गर्ने धूवाका मूस्लाहरु बन्द गराऔ, अबैध प्लटिङ्ग र माटो बालुवा ओसार पसार बन्द गराऔ । धन्यबाद।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको