भक्तपुर — नयाँ वर्ष २०८३ र बिस्का जात्राको अवसर पारेर आयोजना हुन लागेको दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ यस वर्ष थप आकर्षक बन्ने भएको छ। महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ प्रस्तुत गरिने आयोजकले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक दीपक थापाले ‘लन्डन ब्रिज’लाई प्रमुख आकर्षणका रूपमा राखिने जानकारी दिए। उनका अनुसार महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि रहनेछन्।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित चौरमा ११ दिनसम्म महोत्सव सञ्चालन गरिनेछ। “भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत वर्षदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएका छौं,” संयोजक थापाले बताए।
महोत्सवमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म एउटै स्थानमा सहज रूपमा पाउने व्यवस्था मिलाइएको आयोजकको भनाइ छ। स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको पनि उनले उल्लेख गरे।
कार्यक्रममा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीका साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीका स्टलहरू राखिनेछन्। औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य, हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति पनि रहनेछ।
महोत्सव आगामी चैत २६ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले करिब ५ करोड रुपैयाँ बराबरको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ। काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली लगायत जिल्लाबाट दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन्। प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ। साथै वैशाख ५ र ६ गते विशेष कन्सर्ट आयोजना गरिने निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए।
