शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentअर्थइँटा उद्योग महासंघ वागमतीको दोस्रो अधिवेशन : त्वानाबासुको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...

इँटा उद्योग महासंघ वागमतीको दोस्रो अधिवेशन : त्वानाबासुको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन

भक्तपुर । नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा आशाकाजी त्वानाबासु निर्वाचित भएका छन् । समितिको आइतबार भक्तपुरमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भक्तपुरका इँटा व्यवसायी त्वानाबासु दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।


उनको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको समितिले जनाएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ललितपुरका भाइराजा अवाले, काभ्रेबाट प्रतिनिधित्व गरेका व्यवसायी उपाध्यक्षमा जीतेन्द्र खायमली, सचिवमा भक्तपुरका व्यवसायी आशराम बैद्य र कोषाध्यक्षमा काठमाडौंका रामप्रसाद डंगोल चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा रत्नप्रसाद प्रजापति (भक्तपुर), पूर्णप्रसाद गाइजू (भक्तपुर), महेन्द्र खायमली (भक्तपुर), सुमन सापकोटा (धादिङ), राजेन्द्र महर्जन (ललितपुर) र सुरेश श्रेष्ठ (काभ्रे) निर्वाचित भए ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष शंकरबहादुर चन्दले गरेका थिए । सो क्रममा उनले इँटा उद्योगीहरुले व्यहोरेका समस्यालाई सरकारले बेवास्ता गर्न नहुने उल्लेख गर्दै धरासायी बन्दै गएको इँटा उद्योगको स्तर उकास्न ठोस कदमका लागि अनुरोध गरे ।

उनले इँटा उद्योेगीहरु विस्थापित हुन परेकामा दुःख मनाउ गर्दै त्यसको समाधानमा सरकार नलाग्नु अर्को दुःखको विषय भएको चर्चा गरे । अध्यक्ष चन्दले उद्योगसम्बन्धी बनेका नीतिको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासिनता देखाएको र भएका कानून पनि उद्योगीमैत्री नभएको दुखेसो पोखे ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष केपी अवाल, वरिष्ठ उपाध्यक्ष भाइराजा अवाले, महासचिव केदार गासाइँ, भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, ललितपुरका अध्यक्ष प्रेमकृष्ण महर्जन, सचिव आशाराम वैद्यलगायतले इँटा उद्योगीहरुले झेल्दै आएका समस्याहरुबारे उल्लेख गर्दै समस्या समाधानका लागि संगठित शक्तिको आवश्यकतामा जोड दिएका थिए ।

सो कार्यक्रम भक्तपुर इँटा उद्योग संघको आतिथ्यमा भक्तपुरको सूर्यविनायकस्थित होटल घ्याम्पेडाँडामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको