सोमवार, जेष्ठ ११, २०८३

20.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
20.1 C
Bhaktapur
HomeNews Contentशिक्षानयाँ विद्यार्थीको स्वागतदेखि स्मार्ट शिक्षासम्म : श्री आजाद माध्यमिक विद्यालयमा उत्साहपूर्ण कार्यक्रम

नयाँ विद्यार्थीको स्वागतदेखि स्मार्ट शिक्षासम्म : श्री आजाद माध्यमिक विद्यालयमा उत्साहपूर्ण कार्यक्रम

भक्तपुर, जेठ ८ । श्री आजाद माध्यमिक विद्यालय मा शैक्षिक सत्र २०८३ का नयाँ विद्यार्थीहरूको स्वागत, नयाँ शिक्षकहरूको परिचय, एसईई ब्याच २०८०, २०८१ र २०८२ का विद्यार्थीहरूको बिदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, सांस्कृतिक प्रस्तुति तथा विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई विद्यालयसँग आत्मीय रूपमा जोड्नुका साथै बिदाइ हुने विद्यार्थीहरूका लागि भावुक वातावरण सिर्जना गरेको थियो।

विद्यालयका अनुसार यस वर्ष ७० जना नयाँ विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा नयाँ शिक्षक अर्जुन चौलागाईं र रेखा सुनारलाई स्वागत गरिएको थियो। साथै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य हेमबहादुर मल्ल रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक इन्द्रमणि गिरीले विद्यालयको शैक्षिक प्रगति, आगामी योजना तथा प्रविधिमैत्री शिक्षामा विद्यालयले गरिरहेको प्रयासबारे जानकारी गराउनुभयो। उहाँले विद्यालयलाई गुणस्तरीय शिक्षाको नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सोमप्रसाद प्रधान ले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै सार्वजनिक विद्यालयप्रति अभिभावक र समुदायको विश्वास अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।

विशेष अतिथिका रूपमा चाइल्ड एड सेन्टरका शशी ओझा, पीटीए अध्यक्ष पल्पसा गोसाई, समाजसेवी सुशील आगञ्जा, विद्यालय व्यवस्थापन समितिका सदस्य दाशीराम आचार्य तथा पूर्व प्रधानाध्यापक केशव बनियाँ लगायतको उपस्थिति रहेको थियो।

यसैबीच चाँगुनारायण नगरपालिका को सहयोगमा कक्षा ८, ९ र १० मा स्मार्ट इन्टरएक्टिभ बोर्ड जडान गरिएको जानकारी दिइएको छ। विद्यालयले यस प्रविधिले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आकर्षक र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता, सांस्कृतिक प्रस्तुति र सम्मान समारोहले विद्यालय परिसरलाई उल्लासमय बनाएको आयोजकले जनाएको छ।

#भक्तपुर #चाँगुनारायण #आजादमाध्यमिकविद्यालय #स्मार्टशिक्षा #विद्यार्थीस्वागत #बिदाइकार्यक्रम #सामुदायिकविद्यालय #एसईई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको