भक्तपुर । भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयाेजना गरेको छ । प्रतियोगिता मंसिर २५ गतेदेखि पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितामा कुल ३ हजार २९१ जना खेलाडीले विभिन्न १५ खेलविधामा प्रतिस्पर्धा गर्नेछन्।
नगरपालिकाले जनप्रतिनिधि बहालीपछि प्रत्येक वर्ष निरन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिताका हरेक संस्करण हरेक वर्ष परिमार्जित र परिस्कृत हुँदै आएको छ। खेलविधामा विविधता थपिँदै जाँदा सहभागी खेलाडीको संख्या पनि क्रमशः बढ्दै गएको नगरपालिका स्रोतले जनाएको छ ।
यस वर्षका १५ खेलविधामा भलिबलमा २८८, एथ्लेटिक्समा ४०८, टेबलटेनिसमा १३८, पोर्टबलमा १५३, उसुमा १३९, कबड्डीमा १६०, तेक्वाण्डोमा ३५०, कसिमला पाय् खेलमा २४३, बुद्धिचालमा १७३, बाघचालमा २४७, फुटबलमा २८८, जिम्नास्टिकमा १००, ब्याडमिन्टनमा १२०, कराँतेमा १६० र खो–खोमा ३२४ जना खेलाडीहरूकाे सहभागिता रहेको छ ।
नगरका १० वटै वडामा विभिन्न खेलस्थल गरी प्रतियोगिताहरू एकसाथ सञ्चालन हुनेछन्। विद्यालय तहमै प्रतिभा विकास गर्ने लक्ष्यसहित सञ्चालन हुँदै आएको यो प्रतियोगितामार्फत आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ। भक्तपुर एक सातासम्म खेलकुदको रौनक, उत्साह र प्रतिस्पर्धाले भरिनेछ।
