सोमवार, भदौ ८, २०८३

22.1 C
Bhaktapur
सोमवार, भदौ ८, २०८३
22.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरमाक प्याखं र ताथली : हराउँदै गएको सांस्कृतिक इतिहासको खोज

माक प्याखं र ताथली : हराउँदै गएको सांस्कृतिक इतिहासको खोज

माक प्याखं र ताथली : हराउँदै गएको सांस्कृतिक इतिहासको खोज

भक्तपुर । इतिहास, संस्कृति तथा स्थानीय लोकपरम्पराको अध्ययन र खोज–अनुसन्धानका क्रममा भक्तपुरको ताथलीस्थित सौडोलको थने (हाल माथिल्लो सौडोल) मा सापारू (गाईजात्रा) का अवसरमा प्रस्तुत गरिने ‘माक प्याखं’ प्रचलनमा रहेको तथ्य फेला परेको छ।

स्थानीय ज्येष्ठ नागरिक तथा संस्कृतिकर्मी ज्ञानकुमार न्हेम्हाफुकीका अनुसार करिब ३०/३२ वर्षअघिसम्म थनेमा ‘माक प्याखं’ निरन्तर रूपमा प्रदर्शन हुने गरेको थियो। गाईजात्राका अवसरमा स्थानीय समुदायको सहभागितामा प्रस्तुत गरिने यस प्याखंले मनोरञ्जनसँगै तत्कालीन सामाजिक जीवन, स्थानीय संस्कृति र सामुदायिक चेतनालाई समेत प्रतिबिम्बित गर्ने गरेको उहाँको भनाइ छ।

८३ वर्षीय भजन गायक तथा पोङा वादक एक ज्येष्ठ कलाकारका अनुसार पनि गाईजात्राका बेला थने क्षेत्रमा माक प्याखंको रौनक विशेष हुने गरेको स्मरण छ। उहाँका अनुसार स्थानीय बाजागाजा, कलाकार तथा समुदायको सामूहिक सहभागिताले त्यस समयको सांस्कृतिक जीवनलाई जीवन्त बनाउने गरेको थियो।

गाईजात्रा दिवंगत आफन्तको सम्झनामा मनाइने पर्व मात्र नभई स्थानीय समाजको कला, संगीत, नृत्य, व्यङ्ग्य, अभिनय र सामुदायिक सहभागितासँग जोडिएको सांस्कृतिक पर्व पनि हो। यसै क्रममा विभिन्न स्थानमा प्रस्तुत हुने प्याखंहरूले तत्कालीन समाजका विविध पक्षलाई अभिव्यक्त गर्ने गरेका थिए। माक प्याखं पनि त्यस्तै स्थानीय सांस्कृतिक अभ्यासमध्ये एक रहेको देखिन्छ।

तर समयक्रमसँगै नयाँ पुस्तामा परम्परागत प्याखंप्रतिको रुचि घट्दै जानु, आवश्यक कलाकार तथा प्रस्तोता अभाव हुनु, बाजागाजा तथा पोशाकलगायत सामग्रीको व्यवस्थापनमा कठिनाइ आउनु, आर्थिक तथा व्यवस्थापकीय चुनौती बढ्नुजस्ता कारणले यस्ता मौलिक सांस्कृतिक परम्परा क्रमशः हराउँदै गएका छन्।

‘माक प्याखं’ ताथलीको सांस्कृतिक इतिहासको एउटा महत्त्वपूर्ण पाटो हुन सक्छ। यसको उत्पत्ति कहिलेदेखि भयो, यसको नामकरण कसरी भयो, प्याखंमा कस्ता पात्र हुन्थे, कस्तो मुखुण्डो तथा पहिरन प्रयोग गरिन्थ्यो, कुन–कुन बाजा बजाइन्थ्यो, कस्तो संवाद र अभिनय हुन्थ्यो तथा यससँग धार्मिक, सामाजिक वा व्यङ्ग्यात्मक पक्ष के–कस्ता थिए भन्ने विषयमा थप खोज आवश्यक देखिन्छ।

विशेषगरी ज्येष्ठ नागरिक तथा तत्कालीन प्याखंका कलाकार, बाजागाजा बजाउने व्यक्ति र आयोजकहरूसँग मौखिक इतिहास संकलन गर्न सके माक प्याखंबारे थप महत्त्वपूर्ण तथ्यहरू बाहिर आउन सक्छन्। अहिले पनि स्थानीय स्मृतिमा रहेका पात्र, गीत, संवाद, बाजाको ताल, नाच्ने शैली, प्रयोग हुने सामग्री तथा प्याखं प्रस्तुत हुने स्थानबारे जानकारी संकलन गर्न सके यसलाई भविष्यका लागि अभिलेखीकरण गर्न सकिन्छ।

ताथलीको इतिहास र लोकसंस्कृति लिखित दस्तावेजमा मात्र सीमित छैन। ज्येष्ठ पुस्ताको स्मृति, मौखिक परम्परा, जात्रा, पर्व, प्याखं, बाजागाजा र स्थानीय अभ्यासहरू पनि इतिहासका महत्त्वपूर्ण स्रोत हुन्। त्यसैले हराउँदै गएका यस्ता सांस्कृतिक परम्पराको खोज, अभिलेखीकरण र संरक्षणमा स्थानीय समुदाय, संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा नयाँ पुस्ताको सहकार्य आवश्यक छ।

स्थानीय ज्येष्ठ नागरिक तथा संस्कृतिकर्मीहरूसँग रहेका स्मृति, अनुभव र मौखिक इतिहासलाई समयमै अभिलेखमा राख्न सके ताथलीको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणसँगै भावी पुस्तालाई आफ्नो सांस्कृतिक जरा बुझ्नसमेत सहयोग पुग्नेछ।

माक प्याखंको इतिहास खोज्ने यो प्रारम्भिक प्रयास हो। थप जानकारी, पुराना तस्बिर, भिडियो, कलाकारका नाम, प्याखंका पात्र तथा यससँग सम्बन्धित स्मृति वा सामग्री भएका व्यक्तिहरूबाट प्राप्त सूचनाले अनुसन्धानलाई थप समृद्ध बनाउनेछ।

खोज जारी छ …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको