भक्तपुर । शिक्षासेवी तथा साहित्यकार जी. बी. खड्का (अनाम)को दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका खड्काको यस कृतिले उनको साहित्यिक संवेदनशीलता, सामाजिक अनुभूति र मानवीय भावनालाई कवितामार्फत अभिव्यक्त गरेको छ।
यसअघि वि.सं. २०६७ मा प्रकाशित संयुक्त कविता सङ्ग्रह ‘हृदयका प्रतिविम्ब’पछि खड्काको यो दोस्रो कृति हो। ‘हृदयका तरङ्ग’ उनका व्यक्तिगत अनुभूति, समाजप्रतिको दृष्टिकोण, जीवनका उतार–चढाव तथा समयका यथार्थलाई समेट्ने कविताहरूको सङ्ग्रह हो।कृतिमा प्रेम, पीडा, आशा, संघर्ष, सामाजिक न्याय र मानवीय मूल्यका विषयहरूलाई सरल तर प्रभावशाली भाषामा प्रस्तुत गरिएको छ।
वि.सं. २०३१ जेठ १२ गते भक्तपुरको चित्तपोल–८ मा जन्मिएका खड्का हाल सूर्यविनायक नगरपालिका -१० खड्कागाउँमा बसोबास गर्दै आएका छन्। बी.एड. र समाजशास्त्रमा एम.ए. गरेका खड्का चाँगुनारायण नगरपालिका–६ मा रहेको क्वालिटी इङ्लिस सेकेन्डरी स्कूलका संस्थापक तथा प्रिन्सिपल हुन्। उनी शिक्षालाई सेवाको रूपमा अघि बढाउँदै विद्यार्थी, अभिभावक र समाजसँग निरन्तर जोडिँदै आएका छन्।
शिक्षा क्षेत्रसँगै उनी विभिन्न सामाजिक तथा नागरिक संस्थामा समेत सक्रिय छन्। हाल उनी राष्ट्रिय निजी तथा आवासीय विद्यालय नेपाल (नेशनल प्याब्सन)का केन्द्रीय उपमहासचिव, एडिफाई प्राइभेट स्कूल्स अर्गनाइजेसन नेपाल (इप्सन)का अध्यक्ष रहेका छन् ।
उनी एमनेस्टी इन्टरनेशनल नेपालअन्तर्गत समूह ५६ का संयोजक तथा नेशनल प्याब्सन भक्तपुरका अध्यक्षसमेत भइसकेका छन्।
कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशनसँगै साहित्यिक वृत्तमा खड्काको सिर्जनात्मक पहिचान अझ बलियो भएको साहित्यकर्मीहरूको भनाइ छ। शिक्षासेवा र साहित्य सँगसँगै अघि बढाउँदै आएका खड्काको यस कृतिले पाठकलाई आत्मअनुभूति र सामाजिक चेतनासँग जोड्ने विश्वास गरिएको छ।
