भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भेनेजुयलामाथि संयुक्त राज्य अमेरिकाले गरेको सैनिक आक्रमणको कडा विरोध तथा घोर भर्त्सना गरेको छ। पार्टीका अनुसार यो आक्रमण भेनेजुयलाका प्राकृतिक स्रोत कब्जा गर्ने अमेरिकी षड्यन्त्रको भाग हो।
नेमकिपाले जारी गरेको प्रेस वक्तव्यमा जनाइएको छ कि जनवरी ३ (स्थानीय समयअनुसार राति २ बजे) अमेरिकी साम्राज्यवादी सेनाले भेनेजुयलामा कायरतापूर्ण र बर्बरतापूर्ण हमला गरेको हो। पुस १८ र १९ गते सम्पन्न केन्द्रीय परिषद् बैठकले यस घटनाको कडा विरोध गर्दै राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई सकुशल फिर्ता गर्न माग गरेको छ।
पार्टीका अनुसार सन् १९९९ मा ह्युगो चाभेजको नेतृत्वमा सुरु भएको बोलिभारियाली समाजवादी क्रान्ति भेनेजुयलामा निरन्तर अघि बढिरहेको छ। भेनेजुयला संसारका ठूला तेल खानी र खनिज स्रोत भएको मुलुक भएकाले अमेरिकाले त्यहाँका प्राकृतिक स्रोत कब्जा गर्ने उद्देश्यले मादुरोलाई सत्ताच्युत गर्न षड्यन्त्र गरिरहेको नेमकिपाको ठहर छ।
वक्तव्यमा भनिएको छ कि सन् २०११ देखि अमेरिकाले भेनेजुयलामाथि आर्थिक तथा व्यापारिक नाकाबन्दी लगाउँदै आएको छ। हाल ट्रम्प प्रशासनले भेनेजुयाली जनतालाई खाद्यान्न र स्वास्थ्य सेवाबाट वञ्चित गर्ने थप कदम अघि बढाइरहेको छ। राष्ट्रपति मादुरोमाथि लगाइएको लागूपदार्थ ओसारपसारको आरोप झुटो र कपोलकल्पित भएको पनि प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।
नेमकिपाले आफ्नो हैकम स्वीकार नगर्ने देशहरूमाथि हस्तक्षेप र आक्रमण गर्ने अमेरिकी नीतिलाई निन्दनीय भनेको छ। पार्टीले ट्रम्प प्रशासनलाई भेनेजुयलाको सार्वभौमिकतामाथि हस्तक्षेप तुरुन्त बन्द गर्न, राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न तथा भेनेजुयाली जनताको स्वतन्त्रताको सम्मान गर्न आह्वान गरेको छ।
भेनेजुयली जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा विश्वका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै नेमकिपाले युद्ध होइन, शान्ति आवश्यक भएको पुनः दोहो¥याएको छ। साथै अमेरिकाले अन्य देशहरूको सार्वभौमिकता र आन्तरिक मामिलामा हस्तक्षेप तुरुन्त रोक्नुपर्नेमा पनि जोड दिएको छ।
यो प्रेस वक्तव्य नेमकिपाका केन्द्रीय समितिका सचिव प्रेम सुवालद्वारा जारी गरिएको हो।
