भक्तपुर। केन्दामा खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यसहित छैटौं केन्दामा प्रतियोगिता, वर्कसप (कार्यशाला) तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताको समग्र नतिजा अनुसार उक्त प्रतियोगितामा प्रथम पारागन एकेडेमी, दोस्रो युनिटी र तेस्रो सेन्ट जोन्स हुन सफल भएका छन्। नेपाल केन्दामा नेटवर्ककाे आयाेजनामा भक्तपुरमा भएकाे कार्यक्रमका मुख्य आकर्षणका रूपमा विश्व कप केन्दामा खेलाडी टामोत्सु कोबोटाको उपस्थितिमा विशेष वर्कसप प्रशिक्षण सञ्चालन गरिएको थियो।
कोबोटाले केन्दामा खेलका प्रविधि, सीप विकास तथा अन्तर्राष्ट्रिय अभ्यासबारे सहभागी खेलाडीहरूलाई व्यवहारिक प्रशिक्षण दिनुभएको थियो। उहाँकै उपस्थितिमा विजयी खेलाडी तथा विद्यालयहरूलाई पुरस्कार वितरण गरिएको हो।
यसैगरी कार्यक्रममा आईसी युनिभर्सिटीका प्रोफेसर इजाकी नारुहोको विशेष उपस्थिति रहेको थियो। उनले केन्दामा खेलले बालबालिकाको शारीरिक सन्तुलन, एकाग्रता तथा मानसिक विकासमा खेल्ने महत्वपूर्ण भूमिकाबारे आफ्ना धारणा राखिन्
कार्यक्रम नेपाल केन्दामा नेटवर्कका अध्यक्ष पुण्य राम कवाँको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष कवाँले नेपालमा केन्दामा खेलको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै अब नेपालमै केन्दामा उत्पादन प्रक्रिया अघि बढिसकेको जानकारी दिए । यसले खेलको दीगो विकास र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरे ।
प्रतियोगिताअन्तर्गत विभिन्न विधा र वर्गमा खेलाडीहरूलाई सम्मान गरिएको थियो। कप च्यालेन्जतर्फ सुर्यादीप प्रथम र सेन्ट जोन्स दोस्रो भएका छन्। माेसिकामृ विधामा व्यक्तिगततर्फ एसएस सदनका आल्सन प्रथम, सेन्ट जोन्सका आक्रिश दोस्रो र युनिटीका सफल तेस्रो भएका छन् भने विद्यालयतर्फ युनिटी प्रथम भएको छ।
त्यसैगरी स्किल च्यालेन्ज व्यक्तिगततर्फ पारागनका सम्भव खड्का प्रथम, एसएस सदनका रिजन थापा दोस्रो र एसएस सदनकै अभिजीत थापा तेस्रो भएका छन्। स्किल च्यालेन्ज विद्यालयतर्फ एसएस सदन प्रथम हुन सफल भएको छ।
फाइनल टुर्नामेन्ट व्यक्तिगततर्फ पारागनका सुबिन प्रथम, युनिटीका सफल दोस्रो र सेन्ट जोन्सका आक्रिश तेस्रो भएका छन्। रिलेतर्फ युनिटी प्रथम र श्री गणेश दोस्रो भएका छन्।
कक्षा अनुसारको ग्रेड अवार्डमा कक्षा ४ तर्फ युनिटी प्रथम र पारागन दोस्रो, कक्षा ५ तर्फ सुर्या दीप प्रथम र युनिटी दोस्रो, कक्षा ६ तर्फ एसएस सदन प्रथम र हिमालयन दोस्रो, र कक्षा ७ तर्फ सेन्ट जोन्स प्रथम र हिमालयन दोस्रो भएका छन्। समग्र व्यक्तिगत अवार्डतर्फ हिमालयनका ऋषभ बाटी प्रथम, सेन्ट जोन्सका युनिक तामाङ दोस्रो र युनिटीका हिमांशु भट्ट तेस्रो भएका छन्।
कार्यक्रममा ग्रोइङ अप अवार्ड, नाइस क्याप्टेन अवार्ड, मिस्टर कुबोटा अवार्ड तथा नाइस सपोर्ट अवार्ड समेत प्रदान गरिएको थियो। ग्रोइङ अप अवार्ड पारागनका सुबिन तिमिल्सिना, मिनर्वाका आयुषमान तामाङ, सुर्यदीपका सुजन खिउँजु र श्रीगणेशका अभिराज रोकायालाई प्रदान गरिएको थियो।
नाइस क्याप्टेन अवार्ड युनिटीका विवेक तामाङले प्राप्त गरेका छन्। मिस्टर कुबोटा अवार्ड प्रसादीका विवेक भण्डारी, वाइजल्याण्डका प्रशान्त विक र मोडर्नका आर्यश्री अवाललाई प्रदान गरिएको छ। नाइस सपोर्ट अवार्ड प्रसादी, सुर्या दीप र सेन्ट जोन्सले प्राप्त गरेका छन्।
आयोजक संस्थाका अनुसार आगामी दिनमा केन्दामा खेललाई विद्यालय तहदेखि राष्ट्रिय स्तरसम्म विस्तार गर्ने, प्रशिक्षक उत्पादन गर्ने तथा प्रतियोगितालाई नियमित बनाउने योजना रहेको छ ।
कार्यक्रममा सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूले केन्दामा खेलले विद्यार्थीहरूको अनुशासन, एकाग्रता र शारीरिक सन्तुलन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
