भक्तपुर । विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गोल्डेन गेट स्कूलमा तीन दिने ‘ईसिए फेस्ट २०८२’ सुरु भएको छ । नवनिर्मित प्राइमरी प्यालेसको खेलमैदानमा आयोजित फेस्टको उद्घाटन संस्थापक निर्देशक अञ्जु जोशीले चाइनिज पोलमा फुटबलको गोल हानेर गरेकी हुन् ।
पौष २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त फेस्टमा शैक्षिक सिकाइसँगै अतिरिक्त क्रियाकलापलाई सशक्त बनाउने लक्ष्य लिइएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले गोल्डेन गेटले हरेक वर्ष ईसिए फेस्ट आयोजना गर्दै आएको बताउँदै सिकाइको दायरा फराकिलो बनाउन आगामी दिनमा खेलमैदानको थप विस्तार, आधुनिक आईसिटी हल निर्माण र नियमित प्रशिक्षणमार्फत विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा नयाँ अवसर उपलब्ध गराइने बताए ।
ईसिए फेस्टअन्तर्गत २२ वटा खेल तथा प्रतियोगितामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । जसअन्तर्गत जुनियर बास्केटबल, बलुन ब्रस्ट, हट पोटेटो, म्याथ रेस, म्युजिकल चेयर, १०० मिटर दौड, १०० मिटर × ४ रिले दौड, टग अफ वार, स्कोर द गोल्डेन गोल, टेबल टेनिस, ब्याडमिन्टन, कसिमला पाँय, बाघचाल, चेस, स्क्र्याबल गेम, हाई जम्प, लङ जम्प, स्ल्याम पोएट्री, कथा लेखन, नृत्य, गायन तथा चित्रकला प्रतियोगिता रहेका छन् ।
विद्यालय प्रशासनका अनुसार यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मक सोच विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
