सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentअर्थनौलो साकोसको १९औँ स्थापना दिवसमा बृहत् स्वास्थ्य शिविर

नौलो साकोसको १९औँ स्थापना दिवसमा बृहत् स्वास्थ्य शिविर

भक्तपुर । चाँगुनारायण नगरपालिका–५, छालिङ्गमा रहेको नौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ स्थापना दिवसको अवसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोगमा आयोजित शिविरमा २३ जना विशेषज्ञ चिकित्सक तथा प्राविधिक स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। शिविरमा कुल ७२८ वटा स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण अन्तर्गत जनरल मेडिसिन १०७ जना, बालरोग ६० जना, आँखा परीक्षण ८७ जना, नाक–कान–घाँटी ७१ जना, हाडजोर्नी तथा नसारोग ४१ जना, स्त्रीरोग ४० जना, दन्त सेवा ८१ जना, ईसीजी ७६ जना, भिडियो एक्स–रे ७९ जना र प्रयोगशाला परीक्षण ८६ जना रहेका छन्। शिविरमार्फत करिब २५० जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिएका थिए।

महिला उपसमितिको आयोजनामा तथा संस्थाका महिला शेयर सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला र बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो।

शिविरको समापन अवसरमा संस्थाका अध्यक्ष साधुराम गैडाको अध्यक्षतामा कदरपत्र तथा मायाको चिनो वितरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य तथा शिविर संयोजक रामचन्द्र गैडाले गरेका थिए। कार्यक्रममा सल्लाहकार राधाकृष्ण भण्डारी र निवर्तमान अध्यक्ष जुवन लागेजूले सहभागी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

महिला उपसमिति संयोजक लक्ष्मीदेवी लागेजूले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै संस्थाले आयोजना गर्ने आगामी कार्यक्रममा समेत सक्रिय सहभागिताका लागि अनुरोध गरिन्। साथै, कार्यक्रम सञ्चालनका लागि स्थान तथा फर्निचर उपलब्ध गराएको गणेश माध्यमिक विद्यालयलाई विशेष धन्यवादसहित कदरपत्र प्रदान गरिएको थियो।

यस अवसरमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगलका स्वास्थ्य शिविर सञ्चालन संयोजक प्रेम सुवालले काठमाडौं मेडिकल कलेजले चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटमा सहुलियत दरमा विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदै २०८२ माघ १५ गतेदेखि काठमाडौं सरहका सम्पूर्ण सुविधासहित अस्पताल सञ्चालनमा आउने बताए। उनले चाँगुनारायणका बासिन्दालाई स्थानीय स्तरमै स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको