शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीस्वास्थ्य विशेष `हाम्राे प्रयास´ स्मारिका लाेकार्पण

स्वास्थ्य विशेष `हाम्राे प्रयास´ स्मारिका लाेकार्पण


भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष हाम्राे प्रयास स्मारिका प्रकाशन गरेको छ । स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी र सन्देशमूलक लेखहरूकाे संगालाेकाे रूपमा रहेकाे उक्त स्मारिकाकाे विशेष अङ्क वरिष्ठ जनस्वास्थ्य विज्ञ तथा साहित्यकार याेगेन्द्र प्रधानले गरेका हुन् ।

साे क्रममा उनले चिकित्सा र जनस्वास्थ्यबीच फरक रहेको बताए । उनले सरकारले अस्पतालकाे स्वास्थ्य संख्या बढाउनुकाे सट्टा जनस्वास्थ्यमा लगानी गर्नुपर्ने बताए । उनले जनस्वास्थ्य क्षेत्रमा गरेकाे लगानीले पूरै समाजलाई निराेगी बनाउन सकिने चर्चा गरे ।

जनस्वास्थ्यविज्ञ प्रधानले उपचारात्मक उपचार पद्धतिलाई भन्दा प्रवर्द्धनात्मक, प्रतिकारात्मक, तिराेधात्मक उपचार पद्धतिमा जाेड दिनुपर्नेमम जाेड दिए । उनले अहिलेका अस्पताल उपचार केन्द्र नभई राेगीकाे केन्द्रका रूपमा परिणत भएकाले प्रतिकारात्मक उपचार पद्धतिलाई प्रवर्द्धन गर्ने विज्ञानको रूपमा रहेको जनस्वास्थ्यलाई बढावा दिनुपर्ने जनाए । सरकारले जनस्वास्थ्यलाई भन्दा राेगीकाे उपचार पद्धतिलाई प्राथमिकता दिएर स्वास्थ्य सेवालाई महङ्गो र झन्झटिलो बनाएको उल्लेख गरे ।

जनस्वास्थ्य विज्ञ प्रधानले स्थानीय पालिकाहरूले पालिका अस्पतालकाे नाममा स्वास्थ्यमा अनावश्यक खर्च बढाइरहेकोप्रति गुनासो गरेका थिए । उनले राेग लाग्नुभन्दा राेग लाग्न नदिने उपाय अवलम्बन गर्ने विधिलाई सब‌ तहका सरकारले प्राथमिकता दिए ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले नेपाललाई क्षयरोगमुक्त बनाउन सरकार लागिरहेको बताए । उनले क्षयरोगकाे उपचारकाे पहुँचमा नआएका बिरामीहरूलाई उपचारकाे दायरामा ल्याउनुपर्ने बताए । उनले सरकारका मन्त्रीहरूले क्षयरोग नियन्त्रणका लागि आश्वासन दिने तर आश्वासन अनुसार काम गर्ने नगरेकाे अनुभव सुनाउँदै संघसंस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जाेड दिए ।

प्रधान सम्पादक एवम् स्वास्थ्यकर्मी तथा साहित्यकार धनमान श्रेष्ठले भक्तपुरमा क्षयरोग निवारण संस्था स्थापनाकाे पृष्ठभूमिबारे चर्चा गर्दै संस्थाकाे क्रियाशीलताले क्षयरोग निवारणमा सहयोग पुगेको बताए । उनले इमानदारीका साथ सामाजिक कार्य गर्दा जनताको साथ सहयोग हुने समेत उल्लेख गरे ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय पूर्व काेषाध्यक्ष महेन्द्रगाेपाल कर्माचार्यले क्षयरोग नियन्त्रणका लागि संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाउँदै स्मारिकाका महत्त्वपूर्ण स्वास्थ्य लेख र विचारलाई सबैतिर फैलाउनुपर्नेमा जाेड दिए ।

समाजसेवी अनन्त धाैभडेलले सबैको प्रयासले स्वास्थ्य समस्या समाधान गर्न सकिने भएकाले एक अर्काबीच समन्वय र सहकार्य जरुरी रहेको चर्चा गरे । भक्तपुर अस्पतालकी मेट्राेन सजना साखले भक्तपुर अस्पतालले दिनानुदिन प्रगति गरिरहेकाे जानकारी दिँदै गुणस्तर स्वास्थ्य सेवाकाे केन्द्रकाे रूपमा भक्तपुर अस्पताल परिचित हुँदै गइरहेको बताइन् ।

भक्तपुर डक्टर एशाेसिएसनका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भक्तपुरमा डाक्टरहरूकाे तथ्यांक प्रस्तुत गर्दै स्वास्थ्य सचेतनाका लागि सहकार्य गर्ने प्रतिवद्दता जनाए । कार्यक्रममा डा. एलिजा श्रेष्ठले पछिल्लो समयमा नेपालमा पाठेघरकाे क्यान्सर राेगी महिलाकाे संख्या दिनानुदिन बढिरहेको जानकारी दिँदै क्यान्सर नियन्त्रणका लागि सामुहिक प्रयासकाे खाँचो रहेको बताइन् ।

संस्थाका सचिव विजय कर्माचार्यले उमेर समूहलाई लिएर युवा भन्नू सान्दर्भिक नहुने कार्यक्रमका अतिथिहरूकाे क्रियाशीलताले देखाएको बताए । उनले अनुज पुस्ताले अग्रज पुस्ताबाट सिक्नुपर्ने बताए । उनले क्षयरोग निवारणका लागि संस्थाले सक्रिय भूमिका निर्वाह गरिरहेकाे उल्लेख गर्दै क्षयरोग नियन्त्रणका लागि विद्यार्थी केन्द्रीत, समुदाय केन्द्रीत कार्यक्रम गरिरहेकाे बताए ।

संस्थाका अध्यक्ष हिरण्यलाल जाेशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले क्षयरोग निवारणका लागि गरिरहेकाे क्रियाकलापबारे जानकारी दिए । विभिन्न विषेशज्ञ डा. हरूकाे स्वास्थ्य लेख, कथा, जानकारी समावेश भएको स्मारिकाकाे अतिथि सम्पादककाे भूमिका हरिसुन्दर छुकांले गरेका थिए । कार्यक्रम सञ्चारकर्मी नवीना खर्बुजाले सञ्चालन गरेकी गिइन् । नेपाल क्षयरोग निवारण संस्थाकाे भक्तपुर शाखा वि. सं. २०३६ साल साउनमा स्थापना भएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको