भक्तपुर। एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन), भक्तपुरको आयोजनामा ईप्सन फुटसल टुर्नामेन्ट २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ मंसिर २१ र २२ गते दुई दिन जगाती आदर्शस्थित हेल्दी फुटसलमा आयोजित प्रतियोगितामा ईप्सनका सदस्य ९ विद्यालयका जुनियर र सिनियर समूह गरी १८ टिमले सहभागिता जनाएका थिए। लिग प्रणालीमा सम्पन्न प्रतियोगितामा कुल ७२ खेल खेलाइएका थिए।
जुनियर समूहतर्फ ईडेन गार्डेन इङ्ग्लिस स्कुल प्रथम, सुर्योदय सेकेन्डरी स्कुल द्वितीय, सेन्ट जोन्स इङ्ग्लिस स्कुल तृतीय तथा विमल मेमोरियल विद्यापीठ सान्त्वना बने। फेयर प्ले अवार्ड युनिटी इङ्ग्लिस स्कुलले जित्यो भने प्रतियोगितामा अनिस मगर (ईडेन गार्डेन) बढी गोलकर्ता बने। सुर्योदय सेकेन्डरी स्कुलका अभय धौभडेल उत्कृष्ट किपर घोषित भए भने ईडेन गार्डेनका सिरिस लामा उत्कृष्ट खेलाडी चुनिए।
सिनियर समूहमा ग्लोबल इङ्ग्लिस स्कुल प्रथम, ईडेन गार्डेन इङ्ग्लिस स्कुल द्वितीय, युनिटी इङ्ग्लिस स्कुल तृतीय तथा सुर्योदय सेकेन्डरी स्कुल सान्त्वना भयो। फेयर प्ले अवार्ड हिमाल एकेडेमीले प्राप्त गर्यो। युनिटी इङ्ग्लिस स्कुलका रोहित गजमेर प्रतियोगिताका बढी गोलकर्ता बने। ईडेन गार्डेन इङ्ग्लिस स्कुलका रोनिक श्रेष्ठ उत्कृष्ट किपर घोषित भए भने ग्लोबल एकेडेमीका योमन माक उत्कृष्ट खेलाडी बने।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, त्रिभुवन आर्मी क्लबका कप्तान तथा साफ खेलकुदका गोल्ड मेडलिस्ट विकेश कुथुले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरे। ईप्सन भक्तपुरका अध्यक्ष जी.भी. खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विजय कर्माचार्यले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन सचिव विक्रम थापाले गरे। के.भी. ङाखुशीको संयोजकत्वमा आयोजना गरिएको फुटसल टुर्नामेन्ट अनुशासित, प्रतिस्पर्धात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
