बिहिबार, बैशाख ३, २०८३

19.5 C
Bhaktapur
बिहिबार, बैशाख ३, २०८३
19.5 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुरमा विद्यालयहरू पूर्ववत् सञ्चालन हुने

भक्तपुरमा विद्यालयहरू पूर्ववत् सञ्चालन हुने

भक्तपुर, वैशाख ३ । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालनमा रहने भएका छन्।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले चैत २६ गतेको परिपत्रमार्फत मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो।

तर स्थानीय तहका विद्यालयहरू, परीक्षा समितिहरू तथा संस्थागत विद्यालय संघ नेपाल, प्याब्सन, नेसनल प्याब्सन, पेट्सान, हिसानलगायत संस्थाहरूले दुई दिन बिदा हुँदा पठनपाठन प्रभावित हुने र आवश्यक क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए।

यसैबीच अभिभावक संघले पनि वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्न र आइतबार विद्यालय सञ्चालन गर्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक सत्रमा २२० कार्य दिन हुनुपर्ने व्यवस्था छ। साथै, सर्वोच्च अदालतको चैत २० गतेको आदेशलाई पनि नगरपालिकाले ध्यानमा राखेको जनाएको छ।

स्थानीय तहको अधिकार क्षेत्रअन्तर्गत आधारभूत तथा माध्यमिक शिक्षा पर्ने संवैधानिक व्यवस्थाअनुसार, सरोकारवालाहरूको सुझाव, कानुनी प्रावधान र व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरपालिकाले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको