भक्तपुर, फागुन , १७ । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भक्तपुर क्षेत्र नं. १ अन्तर्गत सरस्वती खेलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को चुनावी जनसभा सम्पन्न भएको छ ।
सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाकाे चुनाव चिह्न मादलमा छाप लगाउनुलाई नयाँ युगकाे सुरूवात हुने दिनकाे संज्ञा दिए । उनले वर्तमान राजनीतिक व्यवस्थामा देखिएको भ्रष्टाचार, आर्थिक परनिर्भरता र नीतिगत अस्थिरताबाट मुक्ति पाउनका लागि देशभक्त जनताले मादलमा छाप लगाएर नयाँ युगको सुरुवातकाे शंखघाेष गर्ने बताए । `प्रजातन्त्रलाई जिताउन र नयाँ पुस्ताले पुनः क्रान्ति गर्नुपर्ने अवस्था अन्त्य गर्न मादलमा भोट राख्न जरुरी छ । त्याे भाेट देश हितका लागि हुनेछ । राष्ट्रघात विरूद्दकाे भाेट हुनेछ ।´
उनले जनताको मत र भावनालाई पालना गर्ने प्रतिवद्दता जनाउँदै शासक दलहरूको नीति र कार्यशैलीले आम जनता आजित भइरहेको बताए । `३५ वर्षको बहुदलीय अभ्यासले जनताको अवस्था सुधार्न नसकेको´ उनको भनाइ छ । मतदातालाई मतदानअघि दल र उम्मेदवारको विगतको भूमिकाको समीक्षा गर्न आग्रह गर्दै देशलाई नयाँ राजनीतिक दिशामा लैजान नेमकिपालाई विकल्पका रूपमा प्रस्तुत गरेका थिए ।
उम्मेदवार सुवालले मतदातालाई `छाप हाल्नुभन्दा अघि प्रश्न गर्न´आग्रह गरे । उनले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र मन्त्री बनेकाहरूलाई उनीहरूको कार्यकालबारे जवाफदेही बनाउनुपर्ने बताउँदै, घोषणापत्र र व्यवहारबीचको दूरीबारे जनतालाई सचेत रहन अपिल गरे । `मतदान भनेको कागजमा छाप मात्र होइन, देशको भविष्यमा निर्णय हो,´ उनले भने, `मत माग्न आएका उम्मेदवारसँग देशघातका विषयमा प्रश्न गर्नुस्।´
उनले हतियार निर्यातलाई “युद्ध निर्यात” सँग तुलना गर्दै ठूला शक्तिहरूको हस्तक्षेपले साना राष्ट्रहरू अस्थिर हुने धारणा राखे । अमेरिकी ट्रम्प प्रशासनले विभिन्न देशमा आक्रमण गरी मानवताविरोधी गतिविधि गरेको बताउँदै उनले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन अस्थिर हुँदा नेपालको जस्तो मुलुकमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे । `घर वरपरको वातावरण राम्रो नभए घरभित्र शान्ति हुँदैन,´ उनले भने, `त्यसैगरी देशको अवस्था सुधार्न अन्तर्राष्ट्रिय परिस्थिति पनि न्यायपूर्ण हुनुपर्छ।´
एमसिसीलाई देशघाती सम्झौता भन्दै उनले त्यसको विरोध गरेका थिए । विदेशी पूँजीको प्रभावलाई नवउपनिवेशवादसँग जोड्दै उनले विभीषण, लेण्डुप दोर्जे र ट्रोजन हर्षका उदाहरण प्रस्तुत गर्दै `आन्तरिक विश्वासघात र बाह्य दबाबको गठजोडले राष्ट्र कमजोर हुन्छ,´ भने ।
उम्मेदवार सुवालले कागज, कपास, धागो, इँटा, रबर र कपडा उद्योगजस्ता आधारभूत उत्पादन क्षेत्र निजीकरण गरेर समाप्त पारिएको चर्चा गरे । ठूला पूँजीले साना पूँजीलाई ध्वस्त बनाउने प्रवृत्ति बढेको बताउँदै उनले शासक दलहरूको आर्थिक नीतिले मजदुर–किसानको हित नगरेको जनाए । `शोषणलाई कानुन बनाएर वैधता दिने काम भइरहेको छ,´ उनले भने, `नेमकिपा शोषणमुक्त समाज निर्माणको आदर्शका लागि संघर्षरत छ।´
कार्यक्रममा उनले संसदलाई जीवन्त प्राज्ञिक थलो बनाउनुपर्नेमा शासक दलहरूले भत्ता पचाउने र सुविधा खोज्ने केन्द्र बनाएको समेत बताए । भने, `संसद सदस्य हुनु भनेको रातो पासपोर्ट बेच्ने काम हो?´ नेमकिपाले संसदमा भन्सार सुविधा नलिएको, सांसद पेन्सनको विरोध गरेको र नागरिकता विधेयकको विरोध गर्दै आएको उल्लेख गरे ।बहुदल आएपछि नेपालका नदीनालालाई भारतसँग साझा भन्दै सुम्पिएको जानकारी दिँदै उनले नेपाली लगानीमै जलविद्युत र सिँचाइ आयोजना विकास गर्नुपर्ने धारणा राखे । `३५ वर्ष हेर्याैं, शासक दलहरूले जनहितका पक्षमा केही गरेनन्,” उनले भने, `अबको विकल्प नेमकिपा हो, नेमकिपाको विकल्प अरू दल हुन सक्दैन।´
सभामा वागमती प्रदेशसभा सदस्य गीता काफ्लेले आफूलाई कम्युनिस्ट भन्ने दलहरू सरकारमा गएपछि किसान–मजदुरको हितमा काम नगरेको बताइन् । `किसान रोइरहेका छन्, किसान रोएको देश कसरी समृद्ध हुन्छ?” उनले भने । समयमै मल, जल र बीउबिजनको व्यवस्था गर्न शासक दल असफल भएको बताउँदै उनले देशको अस्तित्व जोगाउन, सीमा रक्षा गर्न र जनताको हित सुनिश्चित गर्न नेमकिपालाई जिताउनुपर्ने धारणा राखिन् ।
कार्यक्रमका सभापति न्हुच्छेभक्त फोँजुले कृषिलाई आत्मनिर्भर बनाउन ‘जसको जोत उसको पोत’ कायम गर्नुपर्ने, मल कारखाना स्थापना गर्नुपर्ने, शिशुस्याहार केन्द्र र आदर निकेतनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । चाँगुनारायण नगरपालिकामा नेमकिपाले दिएका जनमुखी सुझाव कार्यान्वयन नभएको बताउँदै उनले एमाले र काँग्रेस नेतृत्वका जनप्रतिनिधिहरूले भ्रष्टाचार र कमिसन प्रवृत्तिलाई बढावा दिएको बताए ।
स्वागत मन्तव्यका क्रममा स्थानीय गौरीमानसिं थापाले सरस्वती खेलस्थित नैन डाँडा संरक्षणमा नेमकिपाले सहयोग गरेको उल्लेख गर्दै सार्वजनिक जग्गा संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताए। उद्घोषक श्याम अवालले सञ्चालन गरेकाे कार्यक्रममा नेमकिपा कोशी प्रदेशका राजाराम बासी र राजकुमार लघुको टोलीले चुनावी गीत प्रस्तुत गरेका थिए।
