भक्तपुर, फागुन १६ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) चाँगुनारायणले छालिङ र ताथलीमा घरदैलोसहित चुनावी सभा सम्पन्न गरेको छ।
समितिले चाँगुनारायण नगरपालिका वडा ५ काे छालिङस्थित वडा कार्यालय परिसर र चाँगुनारायण नपा ९ काे ताथलीस्थित वनमाला टाेलमा सम्पन्न सभामा पार्टीका केन्द्रीय सचिव तथा भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले अन्य राजनीतिक दलहरूले नीतिगत काम नगरी विकासका आकर्षक नाराका आधारमा जनतालाई झुक्याउने प्रयास गरिरहेको बताए ।
उनले नेमकिपाले निर्वाचनलाई सत्ता प्राप्तिको माध्यम नभई जनतालाई राजनीतिक रूपमा सचेत बनाउने `वृहद् राजनीतिक कक्षा´का रूपमा लिँदै आएको बताए । `अन्य दलहरूले जनतालाई अझै पनि भेडाबाख्राजस्तो ठानेर झुक्याउने खेल खेलिरहेका छन्,´ उनले भने, `त्यसैले मतदाताले व्यक्तिको मीठो भाषणभन्दा पनि पार्टीको नीति, सिद्धान्त र घोषणापत्रको अध्ययन गरेर निर्णय लिनुपर्छ।´
सुवालले अन्य दलहरूको घोषणापत्रले निजीकरणलाई प्राथमिकता दिएको र त्यसले देशको अर्थतन्त्रलाई कमजोर बनाउने बताए। `व्यक्ति र निजी क्षेत्रलाई पोस्ने अर्थतन्त्रलाई विकासको इन्जिन बनाउने नीतिले देशलाई परनिर्भर बनाएको छ,´ उनले भने, `जल, जङ्गल, जमिनजस्ता आन्तरिक स्रोत समाजको नेतृत्वमा सञ्चालन हुने समाजवादी अर्थतन्त्रमार्फत मात्र देशको दिगो विकास सम्भव छ। नेमकिपाको घोषणापत्रले यही मार्गलाई स्पष्ट रूपमा अघि सारेको छ।´
उनले विगत तीन दशकभन्दा बढी समयदेखि शासनसत्तामा रहेका दलहरूका उम्मेदवारहरू घरदैलोमा आउँदा मतदाताले गम्भीर प्रश्न सोध्नुपर्नेमा जाेड दिए । `सरकारमा जाँदा देश र जनताकाे लागि केके गर्नुभयो? भिजिट भिसाका नाममा युवालाई विदेशमा किन बेचियो? कमिसनको खेल किन चल्यो? प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, मन्त्री बनेर शिक्षा, स्वास्थ्य, राेजगारका लागि, सुशासनका लागि के के गर्नुभयाे? यस्ता प्रश्न सोधेर मतदाताले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ,´ उनले भने ।
उम्मेदवार सुवालले देशलाई परनिर्भर बनाउने नीतिहरू लागू गरेर शासक दलहरूले राष्ट्रिय स्वाधीनतामाथि खतरा उत्पन्न गरेको समेत बताए ।
उनका अनुसार विदेशी प्रभाव र दबाबमा देशलाई राख्ने प्रयास भइरहेका छन् र त्यसको प्रभाव अर्थतन्त्रदेखि राष्ट्रिय नीतिसम्म देखिएको छ। राष्ट्रिय स्वाभिमान र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि जनताको सचेत सहभागिता आवश्यक रहेको उनको भनाइ छ । नेपालको संसद जनताको आवाज बुलन्द गर्ने र देशको हितका विषयमा गम्भीर छलफल गर्ने थलो हुनुपर्नेमा पछिल्लो समय व्यक्तिगत स्वार्थ र सुविधा प्राप्त गर्ने केन्द्रका रूपमा प्रयोग भएको टिप्पणी गरेका उनले सभामा संसदलाई जनउत्तरदायी, पारदर्शी र जनताको हितमा काम गर्ने संस्थाका रूपमा स्थापित गर्न नेमकिपाले निरन्तर संघर्ष गर्दै आएको जनाए ।
त्यसैगरी, उनले सिंहदरबार भ्रष्टाचारको अखडा बन्दा त्यसको प्रभाव स्थानीय तहसम्म फैलिएको उल्लेख गर्दै स्थानीय सरकारहरू समेत भ्रष्टाचारबाट अछुतो नरहेको बताए । ` देशको प्रशासनिक केन्द्र नै भ्रष्टाचारको केन्द्र बनेपछि त्यसको असर गाउँ–नगरसम्म पुग्नु स्वाभाविक हुन्छ,´उनले भने ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य गीता काफ्ले, समानुपातिक उम्मेदवारहरू अर्जुन काफ्ले, श्रीभक्त भडेललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।उनीहरूले नेमकिपाको नीति, सिद्धान्त र जनपक्षीय कार्यक्रमबारे जानकारी गराउँदै जनतालाई सचेत भएर मतदान गर्न आग्रह गरे ।
दुबै सभामा नेमकिपा चाँगुनारायणका अध्यक्ष न्हुच्छेभक्त फोजुले आदर्श समाज निर्माणका लागि नेमकिपा निरन्तर संघर्षरत रहेको बताए ।उनले ज्येष्ठ नागरिकका लागि आदर निकेतन स्थापना, बालबालिकाका लागि शिशुशाला सञ्चालन, भ्रष्टाचार अन्त्य, विकासमा हुने पक्षपात हटाउने तथा जनताको आधारभूत आवश्यकतामा केन्द्रित नीति लागू गर्ने लक्ष्य पार्टीले अघि सारेको जानकारी दिए ।
उनले चाँगुनारायण नगरपालिकामा विकासमा पक्षपात भइरहेको र समानुपातिक विकास र जनमुखी काम गर्न नेमकिपाले नगरपालिकाकाे ध्यानाकर्षण गराउँदा पनि मेयर र उपमेयरले सुझाव अनुसार काम नगरेको बताए ।
उनले अन्य राजनीतिक दलहरूले एउटा घोषणापत्र सार्वजनिक गर्ने र उम्मेदवारले अर्को किसिमको आश्वासन दिने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्तो व्यवहारले जनताको विश्वास कमजोर बनाएकाे बताए । ` नीति बनाउने थलोमा जाने उम्मेदवारहरू विकासे कार्यकर्ताको शैलीमा लोभलाग्दा आश्वासन बाँड्दै हिँडिरहेका छन्,” उनल भने, `जनताले अब यस्ता प्रवृत्तिलाई अस्वीकार गर्नुपर्छ।´
छालिङमा भएको सभामा नेमकिपा छालिङका रत्नबहादुर ह्यौँमिखा र ताथलीकाे सभामा नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकांले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष छुकांले नेमकिपाले सधैं देश र जनताको पक्षमा वकालत गरि समग्र देशकाे विकास र हितका लागि काम गरिरहेको चर्चा गरे ।
छालिङकाे सभामा श्रीकृष्ण थापाले र ताथलीकाे सभामा हरिसुन्दर छुकांले उद्घोषण गरेका थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सभालाई सांगीतिक रूपमा आकर्षक बनाउन कलाकार राजाराम बासी, राजकुमार लघुलगायतले जनचेतनामूलक गीत प्रस्तुत गरेका थिए । गीतमार्फत भ्रष्टाचारविरोधी सन्देश, सामाजिक न्यायको आवश्यकता तथा जनताको अधिकारबारे सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले देशको स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न नेमकिपाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए। नेमकिपाले आगामी निर्वाचनमार्फत संसदलाई जनताको वास्तविक प्रतिनिधित्व गर्ने संस्था बनाउने र समाजवादी समाज निर्माणको दिशामा संघर्षलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
