भक्तपुर । चाँगुनारायण नगरपालिका–९ (साबिक ताथली–८) का अग्रज राजनीतिक तथा सामाजिक कार्यकर्ता हरिभक्त न्हेम्हाफुकी र गोपालदास न्हेम्हाफुकीको पुस १४ गते सोमबार साँझ दुःखद निधन भएको छ।
नेपाल मजदुर किसान पार्टीका तर्फबाट २०४९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित हरिभक्त न्हेम्हाफुकीको ८७ वर्षको उमेरमा निधन भएको हो। वि.सं. १९९५ मंसिर २७ गते जन्म भएका न्हेम्हाफुकी जनसेवा, किसान आन्दोलन र संगठन निर्माणमा समर्पित अग्रज कार्यकर्ता थिए। आफ्नो कार्यकालमा इमान्दारी, जनमुखी नेतृत्व र विकासप्रति प्रतिबद्धता देखाउँदै स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएको पार्टीले जनाएको छ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीकै तर्फबाट २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य पदमा निर्विरोध निर्वाचित गोपालदास न्हेम्हाफुकीको पनि ६५ वर्षको उमेरमा निधन भएको हो। वि.सं. २०१५ पुस ९ गते जन्म भएका गोपालदास न्हेम्हाफुकी पार्टी र स्थानीय समुदायमा सक्रिय तथा समर्पित कार्यकर्ताका रूपमा परिचित थिए।
दुवै दिवंगत कार्यकर्ताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। हरिभक्त र गोपालदास न्हेम्हाफुकीको असामयिक निधनले नेपाल मजदुर किसान पार्टी, किसान आन्दोलन तथा ताथली क्षेत्रको सामाजिक, राजनीतिक क्षेत्रमा गहिरो शोक छाएको छ।
नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगर समिति तथा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली समितिले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। पार्टीले दुवै अग्रज कार्यकर्ताको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेको छ।
स्व. हरिभक्त न्हेम्हाफुकीका श्रीमती र तीन छोरा रहेका छन् भने स्व. गोपालदास न्हेम्हाफुकीका श्रीमती र दुई छोरा रहेका छन्। दुवैको अन्तिम संस्कार सोमबारै राम्चेघाटमा सम्पन्न गरिएको थियो।
