भक्तपुर । नेपालका जात्रा, मन्दिर र सांस्कृतिक सम्पदाहरूलाई हुलाक टिकटमार्फत प्रचार गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो वर्षदेखि हुलाक टिकटको प्रकाशन स्वयं गर्ने घोषणा गरेको छ। नयाँ १४ वटा टिकट विमोचन गर्दै मन्त्री पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका हुन्।
भक्तपुरको कोटदेवी मन्दिर र बिस्केट जात्रा टिकटमा हुलाक सेवा विभागले प्रकाशित १४ वटा नयाँ टिकटमध्ये भक्तपुरस्थित ऐतिहासिक कोटदेवी मन्दिर र भव्य बिस्केट जात्रा समेत समावेश छन्। ती टिकटहरूमा ठेचोको बालकुमारी मन्दिर, दैलेखको सप्तदेवल, गोरखाको भीमसेन मन्दिर, दोलखाको बैतेश्वर महादेव मन्दिर, कौडेना सर्लाहीको विष्णु प्रस्तर मूर्ति, काठमाडौंको श्रीस्वस्थानी प्रस्तर मूर्ति लगायत अन्य सम्पदा, जात्रा र शिक्षाविद्हरू समेटिएका छन्।
मन्त्री गुरुङले हुलाक टिकटलाई मुलुकको कला, संस्कृति, इतिहास, रैथाने परम्परा तथा मौलिक बाली संरक्षणको सशक्त माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताए। “टिकट केवल डाकको साधन नभएर हामी को हौं भन्ने परिचय पनि हो,” उनले भने। हुलाक टिकटको पुस्तक विमोचन कार्यक्रममा ‘नेपाल हुलाक टिकट (वि.सं. १९३५–२०८२)’ नामक पुस्तक पनि विमोचन गरिएको थियो।

Yek dam ramro karya, Sanskriti Ra sampadaa jogaunu deshko pahichan ho