भक्तपुर । कक्षा ११ अध्ययनका लागि भक्तपुर नै उपयुक्त गन्तव्य भएको सराेकारवालाहरूले बताएका छन् ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्मान कार्यक्रमका वक्ताहरूले उत्कृष्ट शिक्षाका लागि भक्तपुर उचित गन्तव्य सावित भइरहेको उल्लेख गर्दै कक्षा ११ का लागि भक्तपुर छाेड्न नपर्ने निश्कर्ष निकालेका हुन् ।
नेशनल प्याब्सन भक्तपुरले आयाेजना गरेकाे एसईई उत्तीर्ण विद्यार्थीलाई गरेकाे सम्मान कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, हिसान भक्तपुर अध्यक्ष अनिल कसपाल, सूर्यविनायक नगरपालिका सामाजिक विकास शाखा प्रमुख एवम् प्रवक्ता रविन्द्र सापकोटा, शिक्षाकर्मी जिबी खड्का, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, आयाेजक एनप्याब्सनका अध्यक्ष संजय खड्कालगायतले भक्तपुरमै कक्षा ११ सञ्चालनकाे सम्पूर्ण पूर्वाधार तयार भइसकेकोले उत्कृष्ट शिक्षाका लागि अन्त भाैंतारिनु नपर्ने बताए ।
उनीहरूले भक्तपुरमा रहेका शैक्षिक केन्द्रहरू गुणस्तरका हिसाबले समेत उत्कृष्ट रहेका र छात्रवृत्ति दिन समेत सक्षम रहेकाे जनाए । उनीहरूले एसईई उत्तीर्ण भएपछि विद्यार्थीहरू ११ कक्षा अध्ययनमा लागि लहलहै र बहकाउमा लाग्दा पछि पछुताउनुपर्ने समेत स्थितलाई समयमै मध्यनजर गर्न जाेड दिए ।
कार्यक्रममा ईसईई २०८१ मा भक्तपुरबाट ४ जिपिए हासिल गरेका ३० जना विद्यार्थी तथा विभिन्न विद्यालयका विद्यार्थीलाई सम्मान गरिएको थियाे । एनप्याब्सन भक्तपुरले हरेक वर्ष एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।
एनप्याब्सन भक्तपुरको उक्त कार्यक्रमका लागि भक्तपुरको मध्यपुरथिमिस्थित मिडभ्याली स्कुल/ कलेजले प्राविधिक सहयोग गरेकाे थियाे ।
एसईई उत्तीर्ण विद्यार्थीलाई कार्यक्रमका अतिथिहरूले सम्मान गरेका थिए ।
