भक्तपुर । शनिबार साँझ(एसईई २०८१ को नतिजा आएको दोस्रो दिन) गोमा श्रेष्ठलाई भेट्न जाँदा उनी टहराअघिको डिलमा बसेर हातखुट्टा धुँदै थिइन् ।
खुट्टामा लागेको हिलो पखाल्दै थिइन् ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) मा चार जिपिए हासिल गरेकी उनलाई खोज्दै जाँदा उनी भर्खरै खेतबाट फर्केकी मात्र थिइन् । असारको मध्य भएकाले खेत रोप्न चटारो छ ।
‘ममीड्याडी खेतमै हुनुहन्छ, तपाईं आउने भन्ने थाहा पाएर अलि छिटो आएकी’, गोडामा पानी हाल्दै गरेकी उनले भनिन् । साँझ छिपिँदै थियो ।

चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले चार जिपिए हासिल गरेकी थिइन् । सामुदायिक विद्यालयबाट चार जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० मध्येका एक सर्वोत्कृष्ट विद्यार्थी हुन् । यसका साथै उनी चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी हुन् ।
उनलाई खोज्न र उनीसँग रिजल्ट, पढाइको बारेमा जानकारी लिनका लागि महेन्द्रगम माविका प्रअ सोम श्रेष्ठसँग मोबाइल नं. मागेर करिब सवा ६ बजेतिर सम्पर्क गर्दा उनीमात्र नभएर उनको पूरै परिवार रोपाइँमै व्यस्त रहेका थिए ।
गोमा बस्दै गरेको टहरा छिर्दा बत्ती बाल्नुपर्ने समय भइसकेको थियो । भित्र पलङ, पलङकै छेउमा सिलौटा, पलङसँगै धान, गहुँ, त्यहीसँगै किताबको चाङ । पलङमा बाँधिराखेको झुल ।
उनीसँगै बहिनीहरुसँगै थिए ।
उभिँदा पनि जस्ताले छोला कि भन्ने टहरा । त्यही टहरामा उनीसँग पढाइ, रिजल्ट र पढाइ शैलीको बारेमा, उनको पृष्ठभूमिबारे अनौपचारिक कुराकानीबाट सुरु भयो, उनको संघर्ष र सफलताको पहिलो औपचारिक अध्याय ।
सानैबेलादेखि पढाइमा रुचि भएका गोमा सानो छँदा उनका बुवा आमाले आफ्नो थातथलो छोडेर भक्तपुर आए, कामको खोजी गर्दै । त्यो बेला गोमा ४ वर्षकी थिइन् ।
मीनबहादुर(गोमाकी बुवा र सरस्वती(गोमाकी आमा) रामेछापको खनियाँ पानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो । खनियाँपानीको लेकबाट बेसीसम्मको स्कुल पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो भने उकाले त्योभन्दा बेसी । यसैले जेनतेन गरी भए पनि पढाउँला, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी श्रेष्ठ परिवार भक्तपुर सरेका थिए ।
भक्तपुर आएका उनीहरुले कामको सिलसिलामा इँटा खलामा काम गरे, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको स्कुल अर्थात् महेन्द्रग्राममा भर्ना गरिदिए ।
स्कुलमा भर्ना भएकी गोमा दिउँसो स्कुल जान्थिन्, साँझ विहान आमाबुवाको काममा सघाउँथिन् । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।
कक्षा १० पुग्पछि भने त्यो रुटिनलाई केही पर सारेर पूर्णतः पढाइप्रति समर्पित गरिन् । त्यसैको परिणाम निस्क्यो, एसईईमा ४ जिपिए…
थप भिडियोमार्फत् : https://www.youtube.com/watch?v=cAfa5dwBA9Y
नोट : यससम्बन्धी पूरा समाचार चाँगुपत्र साप्ताहिकमा पढ्न सक्नुहुन्छ ।

Yeni bahut attitude wali raaixen