भक्तपुर । चाँगुनारायण नगरपालिकाले फागुन १५ देखि नगरकोट भ्रमण लक्षित सरसफाइ अभियान सुरु गर्ने भएको छ । नगरप्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन नगरपालिकाले भ्रमण वर्ष लक्षित सफाइ अभियान सुरु गर्ने बताए ।
खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी योजना निर्माणका लागि भएको छलफलमा उनले सो बताएका हुन् । वास शाखाको आयोजनामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणको लागि नगरस्तरीय प्रमाणिकरण तथा प्राथमिकीकरण कार्यक्रममा उनले फागुन १५ गतेदेखि अभियान शुरु हुने बताउँदै अभियान अन्तर्गत सार्वजनिक स्थलको सरसफाइ, रंगरोगन र जनचेतनामूलक अभियान हुने जानकारी दिँदै उक्त अभियानमा जोडन अनुरोध पनि गरे ।
वास योजनालाई अन्तिम रुप दिने चरणमा रहेको चाँगुनारायण नगरपालिकाको उक्त योजनाले आगामी वर्षको योजना निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ । त्यसका लागि तथ्यांक संकलन गहिरिएर अध्ययन गर्नुपर्नेमा जोड दिए । मेयर खत्रीले नगरपालिकाले मनाउन लागिरहेको नगरकोट भ्रमण वर्ष २०८२ को तयारीमा जुट्न सबैमा आग्रह समेत गरेका थिए । उनले नगरपालिकाले नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउनका लागि खानेपानी बोर्ड गठन गरि अगाडि बढिरहेको मेयर खत्रीले जानकारी गराए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले खानेपानी तथा सरसफाईको क्षेत्रमा योजनाबद्ध ढंगले आफ्ना कार्य अगाडि बढाइरहेको बताए । वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले वास शाखाले धेरै राम्रा काम गर्दै आइरहेको बताउँदै वास योजना निर्माणले प्रभावकारी रुपमा कार्य अगाडि बढाउन सहयोग पुग्ने विश्वास जनाए ।
वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले ९ वटै वडाबाट तथ्यांक संकलन गर्ने कार्य सम्पन्न गरि योजना निर्माण अन्तिम चरणमा पुर्याएको जानकारी दिए ।
कार्यक्रममा योजना शाखा प्रमुख अनुप लामिछाने, विपद् ब्यवस्थापन शाखा प्रमुख दिनेश थापा, वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, ४ का वडाध्यक्ष रोज बहादुर तामागं, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ र ९ का वडाध्यक्ष गणेश त्यातलगायत कार्यपालिका सदस्यहरु र विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष गणेश त्यात तथा कार्यपालिका सदस्य कमला गिरीले योजना कागजमा मात्र सीमित नभई जनमुखी हुनुपर्ने र योजना छनोटले पार्ने प्रभावबारे पूर्व मूल्यांकन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले योजना छनोट गर्दा व्यापक छलफल गरी बहुसंख्यक वडावासीलाई सेवा दिने खानेपानी आयोजनालाई समावेश गर्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रमका लागि डोपर, बोर्दा, सिमावि र एन्फोलगायतका संघसस्ंस्थाको सहयोग रहेको थियो भने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी योजना निर्माणका लागि नगरपालिकाले सिटिजन डेभलप्मेन्ट सोलुसनलाई परामर्शदाताको रुपमा छनोट गरेको थियो ।
परामर्श दाताका प्रतिनीधिले योजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै योजना निर्माणसम्बन्धी आएका सुझावलाई मनन् गरी अन्तिम रुप दिने जनाए ।
राम्रो कामको थालनी
भ्रमण बर्षमा आउने पर्यटकलाई स्वच्छ हावामा सास फेर्न दिनको लागि हाल उच्च वायु प्रदुषण गरिरहेका धुवाका मुस्लाहरु बन्द गर्नुपर्यो ।