भक्तपुर । विमल मेमोरियल विद्यापीठको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० जोरपाटीस्थित सो विद्यालयको १९ औं पुरस्कार वितरण तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको हो ।
एसईई र बिएलई परीक्षामा हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयको छवि बनाएको उक्त विद्यालयको सो कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपनगरप्रमुख सरिता तिम्सिना भट्टराईले फूलको बोटसहितको गमलामा पानी दिएर गरेकी थिइन् ।
सो क्रममा उनले चित्तपोलस्थित उक्त विद्यालयको सफलताको कामना गर्दै सूर्यविनायकलाई चिनाउने काममा विद्यालय लागिरहेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा न. १० का वडा अध्यक्ष शिवराम राउतले विमल मेमोरियल स्कुलले चित्तपोलको शैक्षिकस्तर उकास्नका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै विद्यालयका लागि वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीको भविष्य निर्माणका लागि अभिभावकहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले अभिभावक सचेत र सजग हुनुपर्ने बताए । उनले अभिभावकले सकारात्मक भूमिका निर्वाह गरेको अवस्थामा मात्र विद्यार्थीको सर्वाङ्गीण विकास हुने चर्चा गरे ।
नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष विक्रम धुकुछु, नेशनल प्याब्सन भक्तपुरका उपाध्यक्ष शिवकृष्ण कवां, कोषाध्यक्ष विक्रम थापा, एसईई ब्याच २०८० का विद्यार्थी करूणा कार्कीलगायतले शुभकामना मन्तव्य दिएको सो कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष कमल कार्कीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरु गायन, नृत्यलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
थप समाचार चाँगुपत्र साप्ताहिकमा