क्तपुर । स्वच्छ हावा प्रवर्द्दनका लागि कार्यविधिका साथ अघि बढेको चाँगुनारायण नगरपालिकाले वडा वडामा अभिमुखीकरण कार्यक्रम अघि बढाएको छ ।
चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा स्वच्छ हावा प्रवद्र्धनसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम शुरु गरेको हो । बिहीबार वडा नंं ६ नगरकोटबाट शुरु गरिएको कार्यक्रम शुक्रबार वडा नंं २ मा आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
स्वच्छ हावा सम्बन्धी केही दिनअघि नगरस्तरीय अन्तरक्रिया गरेको नगरपालिकाले स्वच्छ हावा परियोजनालाई थप प्रभावकारी बनाउन र आम नगरवासीसम्म पुर्याउन वडागत रुपमै अभिमुखीकरण सुरु गरिएको नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता (वास) शाखाका संयोजक सुरेन्द्र लामिछानेले बताए ।
उनले नगरपालिकाको वास शाखा र स्वच्छ हावा सञ्जाल चाँगुनारायणको समन्वयमा अभिमूखीकरण कार्यक्रम शुरु गरिएको बताए ।
जारी अभिमुखीकरण अन्तर्गत वडा न.२ का वडाध्यक्ष सोम प्रधानले स्वच्छ हावा कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताउँदै यसलाई अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगरपालिकाका वास शाखा संयोजक लामिछानेले नगरमा वातावरण प्रदुषणले पारेको असर र गर्नुपर्ने कामका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्वच्छ हावा सञ्जाल चाँगुनारायण अध्यक्ष रविता कार्की, प्रशिक्षक सुजित श्रेष्ठ र वास सहजकर्ता राममाया रानामगर, दुवाकोट स्वास्थ्य शाखा प्रमुख कुमार केसीलगायतले बोलेका थिए ।
अभिमुखीकरण अन्य वडाहरुमा पनि क्रमशः गरिने कार्यक्रम तय भएको वास संयोजक लामिछानले बताए ।