- दिनेश पाण्डे
जीवनको सुन्दर गल्छ्यौडामा
हामी हिँडिरहेका थियौँ
जसरी जुनकीरी हिँड्छ उज्यालो बोकेर
जसरी दिन हिँड्छ समय बोकेर।
‘यी दाजुभाइ जुम्लाहा जस्तै छन्’
भन्थे बाटामा भेट्ने बटुवाहरु
सम्झना छ मलाई
गेँरु रङको टिसर्ट
किनिदिनुभएथ्यो बुबाले
लगाएर हामी दुबै हिँडेका थियौँ
अङ्कमाल गर्दै ।
म सुनाउँथे अभिनयसहित
कथा तिलस्मीका
आज्ञाकारी शिष्य जस्तै
सुन्थ्यौं मन्त्रमुग्ध भएर
मेरो कविताको पहिलो पाठक तिमी
भन्थ्यौ, ‘म तिम्रो किताब छापिदिन्छु।’
मानेको बारीको डिलमा
उडाउँथ्यौँ चङ्गा
जब छेड्न थाल्थेँ म कका
तिमी फुल्थ्यौ खुसीको लालीगुराँस
भन्थ्यौ, ‘म पनि उडाउने !’
कावा खाँदै उड्थ्यो चङ्गामाथि
अझै माथि माथि
तिम्रो हातमा हुन्थ्यो लट्टाई ।
जब गणितको अभ्यासमा
हुन्थेँ घोरिरहेको
म त त्यसै पिलपिल
तिमी सिकाइदिन्थ्यौ
तिमी जो थियौ यसमा निपूर्ण
भन्थ्यौ, ‘किन आत्तिएको?’ ‘म छु’
ईन्द्रेणीबाट छुट्टिएजस्तै एउटा रङ्ग
तिमी जीवनको यो यात्रामा
छुट्टियौ कता कता ।
उकालो मुखको बाटो
आबुई! म सम्झन्छु अझै
विद्यालय जाँदा म सधैं रुन्थेँ
तिमीले त हो नि
बोकिदिन्थ्यौ झोला
विश्व विजेता नेपोलियन बोनापार्ट जस्तो
म त त्यसै खुसीले फुलेँ
जब तिमी जान्थ्यौँ आफ्नो कक्षा
मलाई लाग्थ्यो आफ्नो कक्षा
मसानघाट जस्तो
गुरुहरुको आवाजमा जाँदैनथ्यो ध्यान
कालोपाटोमा चक घोटेको
खर खर आवाज
लाग्थ्यो रोदनपूर्ण।
ूकस्ता मिलेका दाजुभाइ
साथी जस्ताूको थिएन नभन्ने?
हुन पनि दुई नदीको सङ्गमजस्तै
तिम्रो प्रेमको वात्साल्यमा
म आफूलाई पाउँथेँ सुरक्षित
जब आमा मेलाबाट
आउनुहुन्थेन साँझसम्म
कराउँथ्यो स्याल पर परबाट
झ्यालबाट रुँदै
भन्थेँ म, ‘आमोई ! आमोई ! छिटो आऊ!
डर लाग्यो मलाई ।’
तिमी टाँस्थ्यौ छातीमा मलाई
‘नडराऊ दाइ! म छु ।’
अनि त हो
म ढुक्कले निदाइदिन्थेँ
तिम्रो काखमा।
अब त समय बितिसक्यो धेरै
हामीले हिँड्ने बाटो
फरक भयो सायद
म उघारेर सम्झनाको दैलो
पुगिरहन्छु त्यही समयमा
र अतीतका स्मृतिहरुले
आँखा त्यसै टोलाइरहन्छन्
के तिमीलाई पनि
त्यस्तै हुन्छ त?
— भक्तपुर ।
