भक्तपुर । गाइजात्राको अन्तिम दिन भक्तपुर नगरभर परम्परागत घेन्ताङ्गीसी, नाचगान, ख्याल र विभिन्न साँस्कृतिक कार्यक्रमहरूको रौनक चलिरहेका बेला उता सल्लाघारीस्थित सूर्यदीप स्कूल परिसर साहित्यिक माहोलले भरिएको थियो। भक्तपुर साहित्यिक समाज (भसास) द्वारा आयोजित नियमित घुमन्ते साहित्यिक वाचन श्रृङ्खला को ७८औँ संस्करण साहित्यिक स्रष्टा तथा सर्जकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको हो।
यस वर्षको श्रृङ्खला गाइजात्राका साथै समाजको २५औँ स्थापना दिवस विशेष अवसरका रूपमा मनाइएको थियो। वरिष्ठदेखि युवा पुस्तासम्मका २६ जना साहित्यकारले आ–आफ्ना घोचिला, मार्मिक, र रसिला साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए। विद्यार्थी स्वस्तिका खड्का, करिश्मा पौडेल र सक्षम नेपालले समेत आफ्ना रचनाहरू वाचन गरेका थिए, जसले कार्यक्रममा नयाँ उर्जा थप्यो।
कार्यक्रमको परम्पराअनुसार दिवंगत साहित्यकारलाई सभापतिमा राख्ने चलनलाई निरन्तरता दिँदै यसपटक नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखरभूत भैरव अर्यालको तस्बिरलाई सभापतिका रूपमा राखिएको थियो। समाजका अध्यक्ष राजुराम मुनंकर्मीद्वारा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने सचिव पुरुषोत्तम प्रजापतिले भैरव अर्यालको जीवनी र उनका चर्चित व्यङ्ग्यरचनामाथि प्रकाश पार्दै वाचन गर्नुभयो। यसैक्रममा सूर्यदीप स्कूलका प्रधानाध्यापक लक्ष्मीप्रसाद प्रजापतिले अर्यालको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो।
नारायण तिवारी, कृष्ण बाउसे, सुभाषचन्द्र पौडेल ‘भिमफेदिया’, ललिता दोषी, विनोद खड्का, माणिकबाबु ग्वंग:, विश्वबहादुर दुवाल, सुरेश राजभण्डारी, कविन्द्रलाल प्रधान, सन्तोष भुजेललगायतका कवि-साहित्यकारहरूका कविता, गजल, गीत र लघुकथाले कार्यक्रममा सामाजिक बेथिति र यथार्थमाथि घोचपेच गर्दै सुनिनेहरूमाझ गहिरो प्रभाव छोडेका थिए।
कार्यक्रमलाई संगीतात्मक बनाउँदै सचन्द मल्लले बाँसुरीका विभिन्न धुनहरू प्रस्तुत गर्दा वातावरण अझ आनन्दमय बनेको थियो। कार्यक्रमको विशेष अवसरमा विद्यालयलाई साहित्यिक उर्जा प्रवाह गर्न गरेको सहकार्यका लागि शिक्षक मोहन भुजेलमार्फत् सूर्यदीप इंग्लिस स्कूललाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यतर्फ अध्यक्ष राजुराम मुनंकर्मिले समाजका विगत २५ वर्षका उपलब्धिहरूको समीक्षा गर्दै नेपाली साहित्यिक आन्दोलनलाई अझ व्यापक र जीवन्त बनाउन प्रतिबद्धता व्यक्त गरे।
झण्डै दुई घण्टासम्म चलेको उक्त कार्यक्रम साहित्य, संगीत र संवादको मनमोहक संगमका रूपमा स्मरणीय रह्यो। कार्यक्रमपछि सूर्यदीप स्कूलको तर्फबाट सहभागीहरूलाई क्वाँटी सहितको स्वादिष्ट जलपानको व्यवस्था गरिएको थियो।
