भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङमा रहेको श्री गणेश माध्यमिक विद्यालय ले आफ्नो ४५ औँ वार्षिकोत्सव, अभिभावक दिवस, सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा, समाज तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवाल, वागमती प्रदेश सभा सदस्य गीता काफ्ले, संयुक्त परीक्षा समितिका प्रतिनिधि चक्रबहादुर चाकतु, चाँगुनारायण नपा ५ का वडा सदस्य प्रभुराम थापा, विव्यस अध्यक्ष न्हुच्छेकभक्त फाेँजुलगायतले विद्यालयको शिक्षा विकासमा समुदायको योगदान र सार्वजनिक विद्यालयको भूमिका बारे धारणा व्यक्त गरेका थिए। उनीहरूले स्थानीयकाे श्रमदान, संघर्ष र समुदायको साथले बनेको श्री गणेश मावि चाँगुनारायणको उत्कृष्ट शिक्षालय भएको चर्चा गरेका थिए ।
देउसी गणेशको प्राङ्गणबाट सुरु भएको यात्रा
कार्यक्रममा विद्यालयको स्थापना र विकासको इतिहास स्मरण गरिएको थियो। सहायक प्रधानाध्यापक रामकृष्ण त्यातले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रारम्भिक अवस्था र विकासक्रमबारे जानकारी दिए। विव्यस अध्यक्ष फाेँजु तथा प्रधानाध्यापक इन्द्रबहादुर फाेँजुले विद्यालयको शिक्षायात्रा प्रारम्भमा देउसी गणेश मन्दिर को प्राङ्गणबाट सुरु भएको बचाए । वि.सं. २०३७ साल फागुन १ गते स्थानीय शिक्षाप्रेमी, अभिभावक तथा बुद्धिजीवीहरूको पहलमा विद्यालय स्थापना गरिएको थियो।
सुरुवाती समयमा विद्यालयसँग आफ्नै भवन थिएन। मन्दिर परिसरमा बाँस, माटो र परालबाट बनाइएका अस्थायी कक्षामा पढाइ सुरु गरिएको थियो। स्थानीय बासिन्दाहरूले श्रमदान गरेर कक्षाकोठा निर्माण गरेका थिए भने शिक्षकहरूले सीमित साधनमा पनि शिक्षा प्रदान गर्ने जिम्मेवारी निर्वाह गरेका थिए।
श्रमदान गर्ने अग्रजहरूलाई सम्मान
वार्षिकोत्सव कार्यक्रममा विद्यालयको सुरुवाती चरणमा श्रमदान गरेर विद्यालय निर्माणमा योगदान पुर्याउने स्थानीय व्यक्तिहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रमको सभापतित्व गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुच्छेभक्त फोजुले विद्यालयलाई भौतिक र शैक्षिक रूपमा अझ अब्बल बनाउन निरन्तर प्रयास भइरहेको बताए।
उनले विद्यालयको विकासमा विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक दल तथा नागरिक समाजको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको सहकार्य आवश्यक रहेको बताए।
५४७ विद्यार्थी अध्ययनरत
विद्यालयले हाल प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ। चालु शैक्षिक सत्र अनुसार विद्यालयमा ५४७ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ३०४ छात्रा र २४३ छात्र रहेका छन्।
विद्यालयमा माध्यमिक, निम्न माध्यमिक, प्राथमिक तथा बालविकास तहमा गरी ३२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। विद्यालयले प्रविधिमैत्री शिक्षण पद्धति, विषयगत अतिरिक्त कक्षा तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
एसईईमा उत्कृष्ट नतिजा
विद्यालयले एसईई परीक्षामा पनि उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। गत वर्ष परीक्षामा सहभागी ४३ विद्यार्थीमध्ये कृतिका सुवालले ३.९१ जिपिए, मिना बिटले ३.८६ जिपिए र प्रवेश श्रेष्ठले ३.८० जिपिए ल्याएर उत्कृष्ट नतिजा प्राप्त गरेका थिए। विद्यालयले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो।
स्वास्थ्य, खेलकुद र अतिरिक्त गतिविधि
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै स्वास्थ्य तथा अतिरिक्त कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। विद्यालय नर्स कार्यक्रम अन्तर्गत HPV खोप, भिटामिन–A वितरण, आँखा परीक्षण, पोषण कार्यक्रम तथा नियमित स्वास्थ्य परीक्षण सञ्चालन गरिएको छ।
त्यसैगरी विद्यार्थीमा नेतृत्व विकास गर्न स्काउट, रेडक्रस, विद्यार्थी क्लब लगायतका गतिविधिहरू सञ्चालन भइरहेका छन्। विद्यालयले भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलकुद कार्यक्रमलाई पनि निरन्तरता दिएको छ।
उत्कृष्ट विद्यार्थी सम्मान र सांस्कृतिक कार्यक्रम
वार्षिकोत्सव कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसै अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न गीत, नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको उद्घोषण शिक्षक लक्ष्मीनारायण लिगलले गरेका थिए। उनले विद्यालयको शैक्षिक उपलब्धि, विकासक्रम तथा संघर्षपूर्ण यात्राबारे जानकारी गराएका थिए।
भोलिका लागि नयाँ लक्ष्य
चार दशकभन्दा बढी समय पार गरेको विद्यालय अब थप गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढिरहेको विद्यालयका प्रअ इन्द्रबहादुर फाेँजुले बताए ।
विद्यालयले आगामी दिनमा भौतिक पूर्वाधार विस्तार, खेलमैदान व्यवस्थापन, सीपमूलक शिक्षा तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीलाई अझ सुदृढ बनाउने योजना अघि सारेको जनाएको छ।
देउसी गणेशको आँगनबाट सुरु भएको यो शिक्षालय आज सयौँ विद्यार्थीको भविष्य निर्माण गर्ने केन्द्र बनेको छ। समुदायको साथ, शिक्षकको समर्पण र विद्यार्थीको मेहनतले बनेको यो विद्यालय आगामी दिनमा अझ प्रभावकारी शैक्षिक केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
