सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरदेवी माध्यमिक विद्यालयमा अभिभावक अभिमुखीकरण सम्पन्न

देवी माध्यमिक विद्यालयमा अभिभावक अभिमुखीकरण सम्पन्न

भक्तपुर, ताथली | चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित देवी माध्यमिक विद्यालयले अभिभावक अभिमुखीकरण कार्यक्रम गरेकाे छ ।

असल अभिभावकत्व विषयमा करिब डेढ घन्टासम्म उत्प्रेरक तथा परामर्शकर्ता कमल सिलवालका भनाइमा अभिभावकहरू एकचित्त भएका थिए । अधिकांश अभिभावकहरू पूर्ण रूपमा ध्यान केन्द्रित गरी सहजीकरणमा सहभागी भएका थिए ।

कार्यक्रममा उत्प्रेरक सिलवालका कतिपय भनाइले हलमा सहज हाँसो पनि ल्यायो। तर त्यो हाँसो केवल मनोरञ्जनका लागि मात्र थिएन। त्यसमा अभिभावककाे दैनिक व्यवहारकाे ऐना समेत देखिएको थियाे ।

अभिभावकहरूका आफ्नै व्यवहार, आफ्नै पारिवारिक अभ्यास र आफ्नै यथार्थसँगको प्रतिविम्ब मिसिएको व्यवहारले हाँसो पनि उठाएको थियोे । तर त्याे हाँसो मनाेरञ्जनभन्दा आत्ममूल्याङ्कनकाे क्षण थियाे। बच्चा चुप लागोस् भनेर मोबाइल दिने हामी नै पछि गुनासो गर्छौँ, मेरो बच्चा मसँग बोल्दैन,´ भन्ने भनाइमा आएको हाँसो धेरै अभिभावकका लागि आत्ममूल्याङ्कनको क्षण बन्यो। सहजीकरणका क्रममा उत्प्रेरक सिलवालले विद्यालय र घरको भूमिकालाई स्पष्ट पार्दै भने,विद्यालय परीक्षणशाला हो भने घर वास्तविक प्रयोगशाला हो।´ उनका अनुसार शिक्षकले मार्गदर्शन गर्नुहुन्छ, तर बालबालिकाको चरित्र, अनुशासन, व्यवहार र मानसिक स्वास्थ्य मुख्यतः घरमै निर्माण हुन्छ। अंक, परीक्षा र प्रतिस्पर्धामै सीमित सोचले बालबालिकालाई अनावश्यक दबाबमा पार्ने र उनीहरूको आत्मविश्वास कमजोर बनाउने उनकाे धारणा थियो।

उनले अभिभावकहरूले अन्जानमा गर्ने गम्भीर त्रुटिका रूपमा तुलना गर्ने प्रवृत्तिलाई औँल्याए। छिमेकीको छोरा, मामाघरको छोरी वा सामाजिक सञ्जालमा देखिने बालबालिकासँग तुलना गर्दा बालबालिकाको आत्मबल क्रमश: क्षीण हुँदै जान्छ,´ उनले स्पष्ट भने,यस्तो तुलना तत्काल देखिने समस्या नदेखिए पनि दीर्घकालीन रूपमा बालबालिकाको सोच, निर्णय क्षमता र व्यवहारमा गहिरो असर पर्ने गरेको छ ।´

त्यसैगरी, डर, धम्की र कुटपिटलाई अनुशासनको माध्यम ठान्ने सोचप्रति सिलवालले प्रश्न उठाउँदै समस्या समाधानको उपाय बालबालिकालाई सजाय नभएकोमा जाेड दिए । डरले बालबालिका केही क्षणका लागि शान्त त हुन्छन्, तर सच्चिदैनन्,´ उनले भने । संवाद, समझदारी र विश्वासबाट मात्र दीर्घकालीन सुधार सम्भव हुने उनको जोड थियो ।

अभिभावक र बालबालिकाका व्यवहारजन्य समस्यालाई शिक्षक, विद्यार्थी र अभिभावक मिलेर समाधान गर्नुपर्नेमा जाेड दिएका उनले अभिभावकहरू गम्भीर बन्नुपर्ने उल्लेख गरे । अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएको अभिभावक अभिभावक अभिमुखीकरणमा उनले अभिभावक शिक्षाको अभावमा कैयौं बालबालिकाहरू स्कुलका साथै आफ्नै घरमा दबाबपूर्ण जीवन बिताउन बाध्य भएको जनाउँदै बालबालिकाका पहिलो शिक्षकका रूपमा रहेका आमाबाबुलाई सिकाइ र बालबालिकाकाे मनाेविज्ञानबारे कक्षा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यालयको धारणा राख्दै विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए

विद्यालयलाई समस्या पर्दा मात्र होइन, सन्तानको शैक्षिक र व्यवहारिक प्रगतिबारे बुझ्न पनि अभिभावकहरू नियमित रूपमा विद्यालयसँग सम्पर्कमा रहनु आवश्यक छ,´ उनले आग्रह गरे ।

त्यस्तै, चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यातले शिक्षाको गुणस्तर सुधार विद्यालयको मात्र दायित्व नभई घर, विद्यालय र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गरे । घरमै संस्कार, अनुशासन र संवादको वातावरण निर्माण भए मात्र विद्यालयका प्रयास प्रभावकारी हुने उनकाे भनाइ थियो।

कार्यक्रममा विव्यस पदाधिकारी, अभिभावक – शिक्षक संघका पदाधिकारी, सल्लाहकार, शिक्षक तथा अभिभावकहरूकाे सहभागिता रहेको थियाे । विद्यालयले अभिभावक उत्प्रेरणा कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाउने जनाएको छ ।

कार्यक्रम उपयोगी र प्रभावकारी भएको सहभागी अभिभावकहरूले प्रतिक्रिया दिए । उनीहरूले अभिमुखीकरण कार्यक्रम आत्ममन्थन र जिम्मेवारीको बोध गर्न सहयोगी भएकाे र अभिभावकहरूले आफ्नै भूमिकालाई पुनः मूल्याङ्कन गर्ने र बालबालिकासँगको सम्बन्धलाई नयाँ दृष्टिले हेर्ने अवसर भएको प्रतिक्रिया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको