शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरतिलक प्रकाश : भक्तपुरका एक्ला वृहस्पति

तिलक प्रकाश : भक्तपुरका एक्ला वृहस्पति

हरिसुन्दर छुकां

तिलक प्रकाश कायस्थका बुबा समरबहादुर । उनका दाजुको नाममा पनि बहादुर जोडिएको थियो । दाजुभाइ, बुबाको नाममा ‘बहादुर’ जोडिए पनि उनी आफैलाई चाहिँ नाममा ‘बहादुर’ राख्न मन लागेन । यसैले उनले नामसँग जोडिएको ‘बहादुर’ काट्ने ‘बहादुरी’ गरे । यो बहादुरी गर्नुमा खासै कारण थिएन, नामसँगै जोडिएर आएको बहादुर नराख्नुको कारण थियो त, लेखनप्रतिको उनको सुरुवाती लगन र प्रगतिवादी कवि हृदयचन्द्रसिँह प्रधानको नामको छाप । वि.सं.२०१० सालभन्दा अघि नै कवि हृदयले बास बस्न थालेको उनको मनमा परेको यही छापले आफ्नो नाम आफैं न्वारन गरे अनि राखे, तिलक प्रकाश । ‘हृदयचन्द्रसिंह प्रधानको नाम त चन्द्रबहादुर थियो, तर उनलाई चन्द्रबहादुर हैन, हृदयचन्द्रसिंह प्रधान भनेर चिन्छन्, मलाई पनि नाम फेर्ने प्रेरणा त्यहीँबाट मिल्यो ।’

यसरी हाकाहाकी भन्ने स्वभावका तिलक प्रकाशलाई भेट्न र केही वातचित हेतुका साथ साउनको अन्तिम दिन (३२ गते) भक्तपुरको क्वाछेंस्थित उनको बसाइ घर पुग्न अँध्यारो घरमुनिको बाटो हुँदै, रेलिङ शैलीको ढोका खोलेर उनको लेखन कक्षमा पुग्दा उनको सादा जीवनलाई नजिकबाट अनुभव गरेँ ।

साहित्य मन्दिरका कार्यक्रम, अरु साहित्यिक कार्यक्रममा फाट्टफुट्ट भेट्दा देखिएको जोश, हिँडाइभन्दा भिन्न देखिएका थिए, तिलक प्रकाश । लुंगी, सेतो भेस्ट, अनि पेट र ढाडमा बाँधेको फराकिलो पेटी लगाएर कोठामा एक्लै बसिरहेका तिलक प्रकाशको लेखन कक्ष व्यवस्थित थिएन । यहीँ किताब, त्यही किताव, यहीँ पत्रिकाका ‘कटिङ’हरु । कोठाका भित्तामा केही थान पुरस्कार, सम्मान पत्र, केही पारिवारीक तस्बिरहरु, भुइँमा ओछ्याएको थियो, कार्पेट, चकटी ।

उमेरका हिसाबले ८६ वर्षमा हिँडिरहेका उनी, निधारमा रेखाहरु, चाउरिँदै गएका गाला उमेरले दिएको उपहार । यो अलावा उनी पछिल्लो समयमा ढाडको समस्यामा छन् । यतिमात्र हैन, पिसाबसम्बन्धी पनि समस्या, प्रोस्टेट झेलिरहेका छन् ।

यो शारिरीक समस्याका बाबजुद् पनि उनी दुई वर्षदेखि लेखिरहेका छन्, नेपालमा प्रजातन्त्र ल्याउनका लागि भूमिका खेलेका, योगदान दिएका व्यक्तिहरुको जीवनी । उनीसँगको त्यो ढल्कँदै गएको समयमा कुराकानीका लागि पुग्दा उनी त्यस्तै व्यक्तिहरुको जीवनीमध्ये गणेशमान सिंहको जीवनी लेख्दै थिए, भने विपीको विषयमा आएका आलेखहरुको कटिङ अध्ययन गर्दै थिए । कारण, उनी राजनीतिमा गणेशमान सिँह र विपी कोइरालाबाट प्रेरित थिए ।

‘यी चिया पनि खान भुलेछु, यो जीवनी लेखिरेको छु, लेख्दा म खान, पिउन पनि बिर्सन्छु, यही छ लेख्नुको मज्जा ।’ यो भने पनि उनी लामो समय लेख्न सक्तैनन्, समयसयमा उठ्नुपर्छ, शौचालय जानुपर्छ, किनकि उनलाई पिसाबसम्बन्धी रोग छ ।

आमा ज्ञानेश्वरीको कोखबाट विं.सं. १९९२ साल पुसको ठण्डीमा भक्तपुरको खौमा टोलमा जन्मिएका उनी २५ वर्षदेखि क्वाछेंमा बस्दै आएका छन् । अझ पाँच वर्षदेखि त उनी डेरामा बसिरहेका छन् । २०७२ सालको विनासकारी भूकम्पले उनी बस्दै आएको घर भत्किएको पूनर्निर्माण हुन सकेको छैन । यही भएर उनी डेरामा छन् । त्यही डेरामा उनको दिनचर्या चलिरहेको छ ।

साहित्यमा विशारद गरेका उनलाई आफ्नो पहिलो कृति ‘हा हा माँया ख्याः ख्याः मस्त’ भन्ने थाहा छ, तर आफ्नो जन्मदिन थाहा छैन । सायद्, यही कारण हुन सक्छ, उनले आफूले बुझेदेखि आफ्नो जन्मदिन मनाएका छैनन्, मन्दिर पुगेर मूर्ति पूजा गरेका छैनन्, ढोग गरेका छैनन् ।

घरमै कखरा सिकेका उनले शारदा रात्री स्कुल(स्था.वि.सं.२००९) मा पढे । त्यो बेला फ्रष्ट बुक पढे । त्यही बुक लिएर उनी दुईतीन वटा स्कुल चहारे । त्यो बेला सेकेण्ड क्लास(अहिलेको कक्षा ९) र फ्रस्ट क्लास(अहिलेको कक्षा १०) मा उनले शारदा स्कुलबाटै पढे । पढ्दा पढ्दै उनी बिरामी परे । बुबा, दाजुहरु मधेशतिर थिए । घरमा उनी एक्लै । एक्लै भएपछि घरको जिम्मेवारी सानैबेला, अर्थात् १३÷१४ वर्षको कलिलो उमेरमै उनको काँधमा पर्यो । घर व्यवहारले गर्दा उनले फ्रस्ट कक्षा छोडेका थिए । तर, पछि दाजुहरुले प्रथमा, दितीया पढ्नका लागि हौस्याएपछि नेपालीमा उनले मध्यमा सकाए ।

त्यति सकाएपछि पनि मधेशमा भएको खेत हेर्ने जिम्मा उनकै भागमा आइपुग्यो । जिम्मेवारीले थिचेपनि वीरगञ्जमा बसी उनले वीरगञ्ज विद्यापीठाबाट प्रवेशिका र विशारद (आइएसरह) पास गरे ।

पञ्चायतको समय, कँग्रेसको ‘क’ नै उच्चारण गर्न नुहने बेलामा उनी नेपाली काँग्रेसमा लागेर १७ वर्ष भक्तपुरको सभापति भए । त्यसो त उनी २००८ सालमै नेपाल छात्र संघमा आवद्ध भइसकेका थिए भने २०१० सालमा नेपाली काँग्रेसको सदस्य । राजनीतिमा जीवनको महत्वपूर्ण समय, जवानीसँगै करिब ५ दशक विताए उनले । त्यति हुँदाहुँदै पनि उनले साहित्यलाई छोडेन, साहित्यले पनि उनलाई छोडेन ।

२००९ सालमा ‘थौकन्हे’(नेपालभाषाको पहिलो साहित्यिक पत्रिका) सँगै साहित्यकार सूर्यबहादुर पिवासँग उनको सम्पर्क भयो । त्यसैमा लाग्दालाग्दै उनले आफ्नो लेखनी पनि चलाउन थाले । साहित्य क्षेत्रमा १ वर्ष लाग्दानलाग्दै २०१० बैशाख १ गते भक्तपुरको पहिलो साहित्यिक संस्था नेपाल साहित्य मन्दिर स्थापना भयो । त्यसका संस्थापकमध्ये तिलकप्रकाश पनि एक थिए । त्यो बेला उनी १८ वर्षका थिए ।

२०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रको कदमपछि उनी भारतमा निर्वासित भए । त्यो क्रममा पनि उनले लेख्न छोडेनन् । ‘मिसातय्गु अवस्था’ नामक पहिलो कविता लेखी साहित्यमा प्रवेश गरेका तिलक प्रकाश उनले प्रवासमा रहँदा हिन्दी भाषामा पनि लेख्न थाले । साहित्य मन्दिरको सुरुवातताका उनले १६ पानाको हस्तलिखति पत्रिका ‘मतः’ पनि निकाले, बाँडेर पढे ।
साहित्यकार इन्द्र मालीका अनुसार आफ्नै प्रवृत्ति, स्वभाव र शैलीको कथा लेखन सीप भएका तिलक प्रकाशको लेखन शिल्प, कथाले उत्थान गरेको विषय पृथक छ । यही पेथकता तिलक प्रकाशको शक्ति, तेज, पहिचान, परिचय हो । अनि त नेपालभाषा साहित्यको कथा विधामा उनको नाम छुटाउन नहुने र उनका कथाहरु छुटाउन नहुने विशेषताले भरिएका छन् ।
यो विशेष्ता उनको थोरै त्याग, तपस्या, साधना, मेहनतले मिलेको हैन । लेख्नका लागि मात्र नलेख्ने स्वभाव ै उनको लेखन विशेषताका कारक हुन् । लेख्नका लागि गहिरो अध्ययनको खाँचो रहेको मान्यतालाई जीवनको छुटाउन नुहने अंशसँग जोडेका तिलक प्रकाश आफूलाई मनपर्ने, आफूलाई चाहिएको किताब, पुस्तक किनेर पढ्छन् । ‘किनेर पढ्नुको मज्जा, मागेर पढ्नुमा कहा ?’ यही प्रश्नले उनी पुस्तक किन्छन् र पढ्दै गर्दा मन छोएको शब्द, वाक्य अनि अनुच्छेदमा ‘अण्डरलाइन’ गर्छन् ।

समाजका विकृतिले तिलक प्रकाशको मन छुन्छ, विभेद्ले मन रुन्छ, राजनीतिक खिचातानी, भागबण्डा, चाकडी, चाप्लुसी, अवसरवादी प्रवृत्ति र चरित्रले आफैं आक्रोशित हुन्छ, महिलामाथिको अन्याय, अत्याचार, हिंसाले ऊ आफू छटपटिन्छ, आधुनिकतासँगै मर्दै गएको मानवता, करुणालाई जगाउने सपना देख्छ, साहित्यमा वर्तमानको चित्रण गर्दै परिवर्तनको आभा देख्छ । यस्तै सपना, छटपटी, प्रवृत्ति, रुने र दुख्ने मन, संवेग उनका कथाहरु, कविताहरु, निबन्धहरु, लेखहरुका रचना गर्भ हुन् । र, विभिन्न मितिमा प्रकाशित र विमोचित (वि.सं. २०३५ मा योमरी(धापु मुना), वि.सं. २०५५ मा धनमाया (लघुखण्ड काव्या), वि.सं. २०५५ मा यौनज्ञान मनोविज्ञान, वि.सं. २०६२ मा नुगः जः (निबन्ध मुना), वि.सं. २०६३ मा ख्वबि झसुकाः(शोककाव्य), वि.सं. २०६८ मा वयागु हाथ्या(कथा संग्रह),वि.सं. २०३६ सालको परिवार नियोजक के, किन कसरी ?, वि.सं. २०३७ सालमा यौनज्ञान मनोविज्ञान, २०५८ सालमा शारदा (शोककाव्य), २०६३ सालमा लक्ष्मण रेखा(निबन्ध संग्रह), २०६९ सालको उत्सर्ग(कविता मुना), कमला(२०७२)) यी कृतिहरु उनका सन्तान हुन् । यसबाहेक उनले नेवा ः संस्कृति संस्कार(२०६७) को सम्पादन, थौंकन्हे(लय्पौ) को सम्पादन गरेका छन् ।

साहित्यका विभिन्न विधाहरुमध्ये काव्य, निबन्ध, कथामा सिद्धहस्त उनले परिवार, जनसंख्या र यौन तथा मनोविज्ञानको क्षेत्रमा पनि कलम चलाएका छन्, तिलक प्रकाशले । उनले आफ्नो ख्याति राजनीति वृत्तमा पनि छाडेका छन् । नेपाली काँग्रेससँग प्रत्यक्ष सम्बद्ध उनी काँग्रेसभित्रका ‘प्रतिपक्षी’ पनि हुन् । राजनीतिमा मात्र हैन, सामाजिक क्षेत्रमा पनि उत्तिक्कै सक्रिय र प्रतिवद्ध उनले २०४९ सालमा भक्तपुर नगरपालिकामा मेयर पदको चुनावमा सहभागी भए । ‘जसलाई उनले न हार हुने, न जीत नै हुने प्रजातान्त्रिक चुनावको रुपमा अंगीकार गरे ।’

उनी पहिलेदेखि नै ओशोबाट प्रभावित थिए, अहिले पनि छन् । यही प्रभावको कारण उनले यौनसम्बन्धी, यौनमनोविज्ञान सम्बन्धी थुप्रै लेखहरु, निबन्धहरु, कथाहरु लेखेका छन् ।

समाजको सानो विषय, यस्तो घटना, सन्दर्भ पनि कथाको विषय बन्छ र ? भन्ने जस्ता साधारण विषयलाई कथाका पात्रश्र त्रमशः कमला र रमेशमार्फत् चित्रण गर्ने खुबीका तिलक प्रकाशको साहित्य रचनामा प्रकाशका लुप्त रङहरुमात्र छैनन्, निधारमा लगाइने सौन्दर्य, सौभाग्यको प्रतीक तिलक पनि टल्केको छ ।

उनले साहित्यिक क्षेत्रमा गरेको योगदान, अर्पण गरेका साहित्यिक कृतिहरुका बाबजुद् पनि उनी निरन्तर रुपमा विभिन्न पत्रपकिाहरुमा लेख पनि लेखिरहन्छन् । यो उनको दैनिकीको एक पाटो पनि हो । सुरुमा फाट्टफुट्ट रुपमा कथा लेख्न थालेका उनले अहिले कथा लेखनलाई पनि आफ्नो दैनिकीभित्र समेटेका छन् । कथा लेखेरै उनले आफ्नो प्रख्यातिलाई सबैतिर फिँजाएका छन् । राजनीतिमा लागेर उनले साथी गुमाएका छन्, भने साहित्यमा लागेर थुपै्र साथी पाएका छन् । ‘लेखक हो भनेर चिनाएँ, पाएको त्यति हो’ लेखेर पाएको सफलता उनी एकै वाक्यमा भन्छन् । अनि थप्छन्, कहिले के, भनेको छ, कहिले के भनेको छ, यता भनेको छ, उता भनेको छ, पत्रिका निकालेको छ, बाँडेको छ, त्यसो गरेर हिँड्दा तिम्रो जुत्ता खिइएको पति पनि आम्दानी आउँछ ?’ त्यो प्रश्नलाई उनी हाँसेर टार्छन् ।

तत्कालिन राजनीतिक व्यवस्थाको खेदाइमा परेका तिलक प्रकाश २०१७ देखि २०२५ सम्म अर्थात् ८ वर्ष निर्वासनमा रहे । त्यहीँ बसेर उनले आफ्नो दैनिकी चलाए । त्यसपछि आफ्नो गृहजिल्लामा आउँदा पनि उनले सन्तोषको जीवन बाँच्न पाएनन् । साथमा कापी, कलम भए पुग्ने स्वभावका उनी भूमिगत भए । ‘राजनीतिमा लागेर मैले जुन कल्पना गरेको थिएँ, त्यो बेला राजनीतिमा केही पाउँ भनेर लागैकै हैन, यसबाट केही उपलब्धि गरुँ भन्ने आशै थिएन, इमान्दारीपूर्वक लागियो तर राजनीतिमा लागेको अहिले करिबकरिब ६७ वर्ष भयो तर १० मिनेट पनि राजनीतिबाट सन्तुष्टी पाएको छैन । तर एउटा चित्तबुझ्दो रचना लेख्दा तीनपल्ट (लेखिसकेर पढेपछि, कोहीलाई सुनाएपछि पाएको प्रतिक्रियापछि र प्रकाशन भएपछि) म सन्तोष लिन्छु ।’ अन्तिममा साहित्य नै सन्तुष्टिको मार्ग रहेको उनको निचोड छ ।

जीवनमा धेरै उकाली ओराली, आरोह, अवरोध, सुखदुःख भोगेका, उतारचढाव पार गरेका उनले तिनै विषयलाई आफ्नो लेखनको विषय बनाए । तिनै विषयलाई कविता, कथा, निबन्ध बनाउँदा उनको साहित्यको तौल अझ बढ्यो । रत, नेपालभाषाका मुर्धन्य समालोचक इन्द्र मालीको नजरमा समेत परे उनी । कथामा सँधै उनले कमला र रमेश नामका पात्रलाई प्रयोग गरिरहेका छन् । लेखेर उनले पाएको ताली हो, उनले साहित्यकारहरु राजा शाक्य, इन्द्र माली, पद्मरत्न शाक्य, प्रो, नर्मदेश्वर प्रधान, अगिब बनेपाली, बिमल ताम्रकारलगायतका थुपै्रबाट प्रशंसा पाएका छन् । यतिमात्र हैन, लेखेर उनले दाम पाएन, नाम पाएका छन्, पुरस्कार पाएका छन् । केही थान पुरस्कार भाडामा बसिरहेको उनको कोठामा भित्ताहरुमा छन्, केही भने दराजमा चाङ लागेका छन् । वि.सं. २०६२ मा उनी भक्तपुर साहित्यिक समाजबाट अभिनन्दित भए, त्यही साल उनी थाकुरलाल सिरपाबाट सम्मानित भए, नेपाल संवत् ११२९ मा नःलि प्रधान सिरपाबाट विभूषित भए ।

साहित्यलाई ‘जीवन दर्शन’ मानेर अथक पाइला चालिरहेका उनी साहित्यले जीवनलाई जीवन्त बनाउने अमृतको अनूभूीत छ उनीसँग । ‘जीवनलाई विशुद्ध रचनात्मक बाटोमा डो¥याउँदै जीवनलाई जीवन्त बनाउँछ, साहित्यले, त्यस्तो चीज हो, साहित्य ।’ कोठाको मास्तिर हेर्दै साहित्यको के हो ? को प्रश्नमा जवाफी रहँदा मैले जीवनको परिभाषा सुन्न चाहना गरेँ, अनि उनले भने, ‘ मैले जीवन, जीवन भन्ने चार÷पाँचवटा आर्टिकल लेखिसकेँ, जीवन–धर्म, जीवन–दर्शन, जीवन–व्यवहार, जीवन–जीवन । जीवन भन्ने त खासगरीकन आफ्नो जीवनलाई शुद्ध गर्नु हो ।’
उनको धर्म लेख्नु हो, यसैले उनी लेख्नुलाई धर्म सम्झिरहेका छन् र त्यही कर्म गरिरहेका छन् । ‘म धर्ममा अन्धभक्त हैन, त्यसो भनेर म अनिश्वरवादी हैन, तर म ईश्वरवादी भनेर म ढोग्न जान्न, कहिँपनि ।’ यही भएर अरुहरु धर्मका लागि ब्रत बस्छन्, उनी भने आफ्नै शरिरको लागि ब्रत बस्छन्, कहिलेकाहिँ । त्यही ब्रतले पनि उनलाई लेखनमा मद्दत पुग्छ ।

‘आखिर भगवान भन्ने पनि अति स्वार्थी, उसलाई पूजै गर्नुपर्ने, चाकडी नै गर्नुपर्ने, चाकडी गर्नेदेखि मात्र खुसी हुने । आजभोलिका मान्छे र नेताहरु पनि त्यही, उसको चाकडी गर्यो खुसी भयो । नभज्नेलाई कसले हेरेको छ ?’ चाकडी गर्न नरुचाउने अडान, स्वभाव, स्वाभिमानकै कारण एक्ला वृहस्पति बनेका तिलकप्रकाश काँग्रेसको सिद्धान्त बोकेका तर कम्युनिष्टलाई समेत व्यवहारले छक्क पार्ने खालका व्यक्ति हुन् । आठ दशकको जीवनमा हिँडिरहेका उनलाई छुट्ने क्रममा जीवनको उपलब्धि सोध्दा उनले भने, ‘म श्राद्ध गर्दिनँ, देवता ढोग्न जान्न, कम्युनिष्टहरु छक्क पर्छन्, यो मान्छे चाहिँ प्रजातन्त्रवादी, कँग्रेस, कँग्रेस त पूरातनवादी हुनुपर्ने, यो त्यो पनि छैन, कसरी यसमा यस्तो विचारधारा आयो छक्क पर्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको