भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको सातौँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । निजी क्षेत्र सहितको सहभागितामा सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन गरिनु प्रशंसनीय कार्य भएको चर्चा गर्दै उनले उधारो असुली ऐन कार्यान्वनको शिघ्र प्रतिक्षा रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले भक्तपुरको मौलिक हस्तकलाका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नमा चेम्बरले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मुलुकको विषम परिस्थितिहरुमा समेत उद्यमी व्यवसायीलाई हतोत्साही हुन नदिई व्यवसायमा टिकाईराख्न व्यवसायिक संघसंस्थाहरुले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले आर्थिक क्षेत्रका कुनै पनि समस्याहरु आपसी सम्वाद र सहकार्यबाट समाधान गर्न सकिने पनि उल्लेख गरे ।
समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योले नेपाल भरिका जिल्ला नगर चेम्बरहरुमा भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट गतिविधिहरु सञ्चालन गर्दै आएको बताए । सोही अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघमा महासचिव पदमा निर्वाचित भएकामा उनलाई सम्मान पनि गरिएको थियो ।
संस्थाका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष जगतबहादुर श्रेष्ठ, संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धर, कोषाध्यक्ष सुरेन्द्र जाकिबन्जारलगायतले आआफ्नो धारणा राखेको भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्यले जानकारी दिए ।