सोमवार, जेष्ठ ११, २०८३

21.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentसमाचार‘दह’ उपन्यास लोकार्पण

‘दह’ उपन्यास लोकार्पण

पनौती । साहित्यकार ध्रुवकृष्ण ताम्राकारको नवीन उपन्यास ‘दह’ लोकार्पण गरिएको छ। पनौतीमा आयोजित एक साहित्यिक कार्यक्रममा उपन्यासकार प्रा. डा. विष्णु एस राईको प्रमुख आतिथ्यमा उक्त कृति सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले ‘दह’ नेपाली समाजका घरघरमा घटिरहेका सामाजिक र व्यवहारिक घटनाक्रमलाई आधार बनाएर लेखिएको यथार्थपरक उपन्यास भएको उल्लेख गरे। उनले साहित्यले समाजको वास्तविकता उजागर गर्ने माध्यमका रूपमा काम गर्नुपर्ने धारणा राख्दै ताम्राकारको कृतिले समाजका विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए।

कार्यक्रमका सभापति तथा वरिष्ठ साहित्यकार सूर्यप्रसाद लाकोजूले सर्जक ताम्राकार कथा, उपन्यास, गीत र कवितालगायत विभिन्न साहित्यिक विधामा सक्रिय रूपमा कलम चलाउँदै आएको उल्लेख गरे। उनले नेपाली साहित्यमा ताम्राकारको योगदान निरन्तर सशक्त बन्दै गएको धारणा व्यक्त गरे।

समालोचक डा. हरिप्रसाद सिलवालले ‘दह’ पठनीय र प्रभावशाली उपन्यास भएको टिप्पणी गर्दै कथावस्तु अनुसार शीर्षक अत्यन्त सान्दर्भिक रहेको बताए। अर्का वक्ता ध्रुव मधुकर्मीले उपन्यास यथार्थको धरातलमा आधारित रहेकाले पाठकलाई समाजको वास्तविक अवस्थासँग प्रत्यक्ष साक्षात्कार गराउने धारणा राखे।

अक्षरमार्गद्वारा प्रकाशित उक्त उपन्यासमाथि समालोचकद्वय डा. हरिप्रसाद सिलवाल र ध्रुव मधुकर्मीले समीक्षा तथा टिप्पणी प्रस्तुत गरेका थिए।

‘दह’ नेपाली समाजको यथार्थ चित्रणमा केन्द्रित उपन्यासका रूपमा आएको लेखकको भनाइ छ। यसअघि ताम्राकारका ‘मिराज’ र ‘आँशुको कथा’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन्। त्यसैगरी ‘प्रारम्भ’ (कविता सङ्ग्रह), ‘स्पन्दन’ (मुक्तक सङ्ग्रह), ‘हृदयका उद्गार’ (कविता सङ्ग्रह) तथा ‘भावनाका उत्सर्गहरू’ (गीत सङ्ग्रह) समेत प्रकाशित कृतिका रूपमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको