भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि नगरभित्रका संस्थागत (निजी) विद्यालयहरूले लिन पाउने मासिक शुल्कको अधिकतम सीमा (शुल्क सिलिङ) सार्वजनिक गरेको छ। नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयको श्रेणी र कक्षाका आधारमा शुल्कको वर्गीकरण गरिएको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार, ‘क’ श्रेणीका विद्यालयले माध्यमिक तह (कक्षा ९-१०) का लागि अधिकतम रु. ५,२८९ सम्म मासिक शुल्क लिन पाउनेछन्।
कुन कक्षा र श्रेणीको शुल्क कति? (पूर्ण विवरण)
नगरपालिकाले विद्यालयहरूलाई ‘क’ देखि ‘घ’ सम्म चार श्रेणीमा विभाजन गरी निम्न अनुसारको मासिक शुल्क सिलिङ तोकेको छ:
| तह / कक्षा | ‘क’ श्रेणी (रु.) | ‘ख’ श्रेणी (रु.) | ‘ग’ श्रेणी (रु.) | ‘घ’ श्रेणी (रु.) |
|---|---|---|---|---|
| आधारभूत (कक्षा १-५) | ३,४००/- | २,८२५/- | २,२६३/- | १,७००/- |
| आधारभूत (कक्षा ६-८) | ३,८८८/- | ३,२३८/- | २,५७५/- | १,९४४/- |
| माध्यमिक (कक्षा ९-१०) | ५,२८९/- | ४,४००/- | ३,५३८/- | २,६३८/- |
अतिरिक्त शुल्क लिन पाइने कि नपाइने?
नगरपालिकाले मासिक शुल्क बाहेकका अन्य शुल्कहरूमा भने कडाइ गरेको छ। सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरू:
१. भर्ना र वार्षिक शुल्क: विद्यालयहरूले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को परिच्छेद २५ को नियम १४६ मा तोकिएको व्यवस्था भन्दा बढी शुल्क लिन पाउने छैनन्।
२. थप सुविधाको शुल्क: यदि विद्यालयले विशेष सुविधा दिएबापत थप शुल्क लिन चाहेमा त्यसका लागि:
- अभिभावक भेलाको स्वीकृति हुनुपर्ने।
- शिक्षक-अभिभावक संघको सिफारिस चाहिने।
- विद्यालय व्यवस्थापन समिति (विव्यस) ले निर्णय गरेको हुनुपर्ने।
३. कम्पनी र गुठी दुवैलाई लागू: यो नियम कम्पनी र शैक्षिक गुठी दुवै मार्फत सञ्चालित सबै संस्थागत विद्यालयहरूमा अनिवार्य रूपमा लागू हुनेछ।
नगर शिक्षा समितिको २०८३ वैशाख १६ गतेको बैठकले यो निर्णय गरेको हो। नगरपालिकाका अधिकृत आठौँ साधुराम फुयालका अनुसार तोकिएको सीमाभन्दा बढी शुल्क लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
अभिभावकहरूलाई आफ्ना बालबालिका पढ्ने विद्यालय कुन श्रेणीमा पर्छ र नगरपालिकाले कति शुल्क तोकेको छ भन्ने बुझेर मात्र शुल्क तिर्न नगरपालिकाले आग्रह गरेको छ।




Yo ta nagar palika aafailebkun school kun srenima parcha aam sarbasadharanlai k tha huncha