भक्तपुर। चाँगुनारायण नगरपालिकाले दैनिक ज्यालादारी कामकाजमा कडाइ गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार अब बिना स्वीकृति कसैलाई पनि ज्यालादारीमा काममा लगाउन नपाइने भएको छ।
नगरपालिकाले कामको औचित्यता, आर्थिक मितव्ययिता र प्रशासनिक चुस्तता कायम गर्न यस्तो निर्णय गरिएको जनाएको छ। सूचनामा उल्लेख भएअनुसार वैशाख १ गतेदेखि कुनै पनि कामका लागि व्यक्तिलाई ज्यालादारीमा खटाउँदा सम्बन्धित कारण खुलाइ कार्यालयबाट लिखित अनुमति लिनुपर्नेछ।
यदि अनुमति बिना काममा लगाइएको पाइएमा त्यसबापतको भुक्तानी नगरपालिकाबाट नहुने पनि स्पष्ट पारिएको छ। आवश्यक कामको हकमा कामको विवरण, कारण र औचित्यता सहित प्रस्ताव पेश गरी स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
यस निर्णयले अनावश्यक खर्च नियन्त्रण गर्न तथा कार्यप्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।
