शनिबार, बैशाख ५, २०८३

21.1 C
Bhaktapur
शनिबार, बैशाख ५, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रप्रअ छनोट विवाद : शिक्षा कार्यविधि संवैधानिक इजलास बाहिर

प्रअ छनोट विवाद : शिक्षा कार्यविधि संवैधानिक इजलास बाहिर

भक्तपुर । चाँगुनारायण नगरपालिकाले जारी गरेको शिक्षा सम्बन्धी कार्यविधि विवाद अब सर्वोच्च अदालतको संवैधानिक इजलासबाट नभई नियमित इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतले उक्त कार्यविधि संवैधानिक इजलासको अधिकारक्षेत्रभित्र नपर्ने ठहर गर्दै मुद्दालाई सामान्य इजलासमा पठाउन आदेश दिएको हो।

न्यायाधीशहरूको संवैधानिक इजलासले मिति २०८२ चैत २३ गते जारी आदेशमा चाँगुनारायण नगर कार्यपालिकाबाट २०८२/०७/०६ मा पारित “शिक्षा सम्बन्धी अत्यावश्यक कार्यसञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१” संविधानको धारा १३३ (१) र १३७ (२) अनुसार संवैधानिक इजलासमा हेर्न नमिल्ने स्पष्ट गरेको छ।

अदालतले उक्त कार्यविधि नगर सभाबाट पारित कानून नभई नगर कार्यपालिकाको निर्णयबाट जारी भएको देखिएको उल्लेख गर्दै संवैधानिक इजलासमा दर्ता गर्ने यसअघिको आदेशसमेत बदर गरेको छ।

निवेदक पक्षले उक्त कार्यविधि शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ सँग बाझिएको भन्दै बदरको माग गरेको थियो। अब यो मुद्दा नियमित (एक न्यायाधीशको) इजलासमा सुनुवाइ हुने भएको छ।

यता, चाँगुनारायण नगरपालिकाले भने उक्त कार्यविधि अनुसार प्रधानाध्यापक (प्रअ) छनोट प्रक्रिया अघि बढाइरहेको छ। निवेदन दिएका उम्मेदवारहरूको परीक्षा तथा छनोट प्रक्रिया हाल पनि जारी रहेको नगर स्रोतले जनाएको छ।

उक्त रिटमा गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछेभक्त फोंजुसहितले निवेदन दिएका थिए भने विपक्षीमा चाँगुनारायण नगरपालिका, भक्तपुर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको