भक्तपुर, चैत, १९ । ताथली–नाला सडकखण्डमा बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाबीच विस्तृत छलफल सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी, विभिन्न समाजका प्रतिनिधि तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए। छलफलमा स्थानीयस्तरमा बढ्दो सवारी चाप, तीव्र गति, सडक संरचनाको अवस्था, ट्राफिक नियमको पालना नहुनुजस्ता कारणले दुर्घटना बढिरहेको निष्कर्ष निकालिएको थियो। सहभागीहरूले “कारण पत्ता लगाइसकिएको अवस्थामा अब समाधानतर्फ ठोस कदम चाल्नुपर्ने”मा जोड दिएका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सडक अनुशासनसँगै स्व-अनुशासनको अभाव नै दुर्घटनाको मुख्य कारण भएको औंल्याए। उनले सबै सरोकारवाला पक्ष जिम्मेवार भएर लागेमा दुर्घटना न्यूनीकरण सम्भव रहेको बताए। “सडक सुरक्षाका लागि नियम बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको कार्यान्वयनमा सबैको सक्रियता आवश्यक हुन्छ,” उनले भने।
छलफलमा सहभागीहरू—केशरबहादुर खड्का, वर्षा कोइराला, राजेन्द्र थापा, नातिभाइ ह्येम्बा, उत्तम साखकर्मी, रविन बस्नेत तथा श्रीकण्ठ खड्कालगायतले आ–आफ्नो अनुभव र सुझाव राख्दै ताथली–नाला सडकमा देखिएका समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए। विशेषगरी स्थानीय व्यवसायीहरूले सडक सुरक्षामा आफ्नो तर्फबाट गर्न सकिने योगदानबारे प्रतिबद्धता जनाएका थिए भने युवाहरूले सचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने बताएका थिए।
छलफलबाट दुर्घटना न्यूनीकरणका लागि केही महत्वपूर्ण निर्णयहरू समेत गरिएको छ। जसअनुसार ताथली–नाला सडकखण्डमा नियमित ट्राफिक चेकिङ सञ्चालन गरिने, उपयुक्त स्थानहरूमा अस्थायी ट्राफिक पोस्ट स्थापना गरिने, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रूपमा नियमित अनुगमन गर्ने सहमति भएको छ।
त्यसैगरी, स्थानीय व्यवसायीहरूले आफ्नो क्षेत्र वरिपरि सिसिटिभी क्यामेरा जडान गर्ने, सडकमा सचेतनामूलक बोर्ड राख्ने, ट्राफिक संकेतहरूको उचित व्यवस्थापन गर्ने तथा सडक डिभिजन कार्यालयमार्फत सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने निर्णय पनि गरिएको छ।
कार्यक्रमको निष्कर्षस्वरूप सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी बहन गर्दै समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय तहको पहलमा सुरु भएको यस अभियानले ताथली–नाला सडकमा दुर्घटना न्यूनीकरणमा ठोस योगदान पुग्ने विश्वास लिइएको छ।
