भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुर (बाचामारी) स्थित मदरल्याण्ड स्कुलले आयोजना गरेको “मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२” भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयले नृत्यतर्फ “मदरल्याण्ड डान्स आइकन” र गायनतर्फ “भ्वाइस अफ मदरल्याण्ड सिजन–१” शीर्षकमा कार्यक्रम आयोजना गरेको हो।
चैत्र ८ गते सम्पन्न उक्त कार्यक्रममा कक्षा १ देखि माथिका विद्यार्थीहरूले जुनियर र सिनियर समूहमा प्रतिस्पर्धा गर्दै आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए। गायनतर्फ जुनियर समूहमा कक्षा ४ का जेशिक नेपाल विजेता बने भने सिनियरतर्फ कक्षा ५ का न्यूरोण लोहोला शीर्ष स्थान हासिल गर्न सफल भए। त्यसैगरी नृत्यतर्फ जुनियरमा कक्षा ३ की स्तुति राणामगर र सिनियरमा कक्षा ६ की एप्रिल शिल्पकार विजेता घोषित भए।
गायनतर्फ जुनियर समूहमा कुशल घिमिरे (प्रथम उपविजेता), सनुप दाहाल (द्वितीय), ईभा सुकुभट्टु (तृतीय) र प्रिन्स थापा (चौथो) तथा सिनियर समूहमा आयन योन्जन (प्रथम उपविजेता), पूर्णिमा खत्री (द्वितीय), आयन जंग कटवाल (तृतीय) र लकिशा भण्डारी (चौथो) घोषित भए।
नृत्यतर्फ जुनियरमा यशिका प्रधान (प्रथम उपविजेता), रूगोशा नेपाल (द्वितीय), रियान्श बोहरा (तृतीय) र रक्षिका कासुला (चौथो) तथा सिनियरमा झरणा देउवा (प्रथम उपविजेता), जेशिका श्रेष्ठ (द्वितीय), जेनिशा तामाङ (तृतीय) र ऋतु तामाङ (चौथो) ले उपाधि जिते।
कार्यक्रमका इभेन्ट म्यानेजर तथा सिनियर कोरियोग्राफर सुमि वानियाले यस्ता कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा उजागर गर्न सहयोग पुग्ने र सानै उमेरदेखि आत्मविश्वास विकास हुने बताइन्। उनले सबै सहभागीलाई उनीहरूको मिहिनेत र प्रतिभाको कदर गर्दै विभिन्न अवार्डमार्फत सम्मान गरिएको जानकारी दिइन्।
विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले विद्यालयले अभिभावकको उपस्थितिमा यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गरेर विद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएकोमा प्रशंसा व्यक्त गरे।
कार्यक्रममा सेलिब्रेटी अतिथिका रूपमा वरिष्ठ डान्स कोरियोग्राफर तथा मोडल शेखर घर्तीमगरको उपस्थिति रहेको थियो। गायनतर्फ गायक, संगीतकार तथा गीतकार राजेन्द्र बजगाईं र गायक तथा गीतकार राजानन्द माण्डव्य निर्णायक रहेका थिए भने नृत्यतर्फ रोडिज ६ का उपविजेता तथा डान्सर अर्वीन चन्द ठकुरी र कोरियोग्राफर अश्वीन गुरुङ निर्णायकको भूमिकामा थिए।
यसैगरी शास्त्रीय नृत्यका महेश प्रकाश हाडा, प्रोफेसर रामबाबु खत्री लगायत विभिन्न कला–साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रमले विद्यालयको सिर्जनात्मक शैक्षिक अभ्यासलाई थप सशक्त बनाएको सहभागीहरूले बताए ।
