शनिबार, बैशाख ५, २०८३

21.1 C
Bhaktapur
शनिबार, बैशाख ५, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुरमा एसईई परीक्षा केन्द्र निर्धारणमा ढिलाइ : के हुँदैछ चलखेल?

भक्तपुरमा एसईई परीक्षा केन्द्र निर्धारणमा ढिलाइ : के हुँदैछ चलखेल?

भक्तपुर । भक्तपुर जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र निर्धारणमा ढिलाइ भएको छ। परीक्षा मिति नजिकिँदै गर्दा पनि केन्द्र टुंगो नलाग्दा विद्यार्थी, अभिभावक र विद्यालयहरू अन्योलमा परेका छन्।

याे वर्षको परीक्षा आगामी १९ गतेबाट सुरू हुँदैछ ।

यस वर्ष भक्तपुरबाट ६ हजार ३६ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। जसमध्ये ३ हजार १०८ छात्र र ३ हजार ६२८ छात्रा रहेका छन्। जिल्लाभर करिब २०० विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुने तयारीमा छन्। यति ठूलो संख्यामा परीक्षार्थी सहभागी हुने अवस्थामा पनि परीक्षा केन्द्र समयमै निर्धारण नहुँदा व्यवस्थापनमा चुनौती थपिएको देखिएको छ।

एसईई सम्बन्धी कार्यविधिअनुसार परीक्षा केन्द्रहरू सामान्यतया कम्तीमा १५ दिनअघि सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि यसपटक सो समयसीमा नाघ्न लागेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले यस्तो व्यवस्था गरे पनि व्यवहारमा ढिलाइ देखिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका अनुसार परीक्षा केन्द्र निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ। तर हालसम्म केन्द्र सार्वजनिक नहुँदा परीक्षा व्यवस्थापनमा अन्योल बढेको छ।

यता शिक्षाकर्मीहरूले भने विगत वर्षहरूमा परीक्षा केन्द्र छनोट प्रक्रिया अव्यावहारिक भएको गुनासो गरेका छन्। केही विद्यालयलाई टाढा र असहज केन्द्रमा पठाइएको तथा विद्यार्थीलाई अनावश्यक दुःख हुने गरी केन्द्र तोकिएको अनुभव रहेको उनीहरूको भनाइ छ।

केही शिक्षाकर्मीहरूले पहुँच र प्रभावका आधारमा परीक्षा केन्द्र निर्धारण हुने गरेको आरोपसमेत लगाएका छन्। “केन्द्र निर्धारणमा स्पष्ट मापदण्डभन्दा पनि पहुँच हेर्ने प्रवृत्ति देखिन्छ,” एक शिक्षकले भने ।

विद्यालयहरूले आन्तरिक तयारी पूरा गरिसकेका भए पनि केन्द्र निर्धारण नहुँदा विद्यार्थीहरूमा मानसिक दबाब बढेको बताइएको छ। शिक्षक तथा विद्यालय सञ्चालकहरूले समयमै केन्द्र सार्वजनिक नगर्दा व्यवस्थापन, सुरक्षा र अनुगमनका काममा समस्या आउन सक्ने बताएका छन्।

यस वर्षको एसईई परीक्षा नजिकिँदै जाँदा केन्द्र निर्धारणमा भइरहेको ढिलाइ र छनोट प्रक्रियामाथि उठेका प्रश्नहरूले समग्र परीक्षा व्यवस्थापनमै चुनौती थपिएको देखिन्छ।

केन्द्र निर्धारणका सम्बन्धमा इकाई प्रमुख कमला ज्ञवालीले कार्यालयकाे परीक्षा शाखाका हुकुम बहादुर खत्रीसँग सम्पर्क गर्न अनुरोध गरिन् । परीक्षा शाखाका खत्रीले परीक्षा केन्द्र केही दिनमा तय हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको