भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको इथाचा–तालुवापाटीस्थित रोम्वस नेशनल स्कुलको तेस्रो वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि घनश्याम खड्का ले विद्यालयको विकास र प्रगतिका लागि आफू सधैं सहयोगी बन्ने बताए।
चाँगुनारायण शिक्षा समिति सदस्य समेत रहेका उनलेे सही नेतृत्व भए विद्यालय पनि सही दिशामा अघि बढ्ने उल्लेख गर्दै विद्यालय कस्तो हुने भन्ने कुरा त्यसको नेतृत्व कस्तो छ भन्नेमा निर्भर रहने बताए। भक्तपुरको शिक्षा, साहित्य र मानवअधिकार क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरूले सञ्चालन गरेको यस विद्यालयको भविष्य सुनिश्चित रहेको उल्लेख गर्दै यहाँ अध्ययन गर्ने बालबालिकाको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे।
विद्यालयका प्राचार्य डा. राजेन्द्र कोजु ले विद्यालय स्थापना कुनै व्यक्तिको रहरले नभई यस क्षेत्रको आवश्यकताबाट भएको बताए। “यो विद्यालय आवश्यकताले जन्माएको हो, त्यसैले यसको प्रगति र गति कसैले चाहेर रोक्न सक्दैन,” उनले भने। उनले विद्यालयले छोटो समयमै शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए।
कार्यक्रममा विद्यालयको प्रगति विवरण अमृता ढकाल ले प्रस्तुत गरिन्। उनले विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, विद्यार्थी सहभागिता, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगतिबारे जानकारी दिइन्। साथै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको पनि उनले बताइन्।
विशेष अतिथि सन्तोष श्रेष्ठ ले आफ्नो प्रस्तुति तथा मन्तव्य मार्फत विद्यार्थीहरूलाई प्रेरित गरे। उनले निरन्तर अभ्यास, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले मात्र सफलता हासिल गर्न सकिने बताए।
कार्यक्रममा सक्रिय अभिभावक, सक्रिय विद्यार्थी, शैक्षिक उपलब्धिमा उत्कृष्ट विद्यार्थी तथा खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। यसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र थप ऊर्जा थप्ने विश्वास विद्यालयले लिएको छ।
कार्यक्रमका सभापति कृष्ण राज सुनार ले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने धारणा व्यक्त गरे।
विद्यालयले छोटो समयमै स्थानीय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित हुने लक्ष्य राखेको आयोजकले जनाएको छ।
