भक्तपुर ।ऐतिहासिक, सांस्कृतिक र राजनीतिक चेतनाको दृष्टिले नेपालकै विशिष्ट पहिचान बोकेको भक्तपुर फेरि एक पटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। भक्तपुर-२, जहाँ प्रत्येक चुनावमा मतदाताले फरक दलका उम्मेदवारलाई रोज्दै आएका छन्, यसपटक फेरि नयाँ रोमाञ्चक राजनीति दृश्यको सामना गर्न लागेको छ। विगत सात चुनावको नतिजाले देखाएको छ- नेपाली कांग्रेस र नेमकिपाको आलोपालो, २०७४ मा एमालेको प्रवेश र २०७९ मा गठबन्धनको प्रभाव।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जाँदा भक्तपुर-२ ले केवल एउटा संसदीय सिटको निर्णय मात्र गर्ने छैन, यसले नेपाली मतदाताको बदलिँदो मनोविज्ञान, परम्परागत दलप्रतिको भरोसा र नयाँ राजनीतिक शत्तिप्रतिको आकर्षणलाई समेत स्पष्ट संकेत गर्नेछ। यही कारणले भक्तपुर-२ लाई यसपटक ‘स्विङ क्षेत्र’ मात्र होइन, राजनीतिक सन्देश दिने प्रयोगशालाका रूपमा हेरिन थालिएको छ। भक्तपुर-२ मा महेश बस्नेतबाहेक अधिकांश उम्मेदवार नयाँ छन् ।
भक्तपुर जिल्लामा दुईवटा संसदीय निर्वाचन क्षेत्र छन्। तीमध्ये सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकालाई समेटिएको क्षेत्र नम्बर-२ यसपटक सबैभन्दा बढी चर्चामा छ। यहाँ कुल ९८ हजार ३ सय ५६ मतदाता छन्। तीमध्ये महिला मतदाता पुरुषभन्दा केही बढी छन्। १ सय १४ मतदान केन्द्रमार्फत हुने मतदानमा सानो मतान्तरले पनि नतिजा पल्टिन सक्ने अवस्था छ।
अघिल्लो निर्वाचन (२०७९) मा ९५७ मतको अन्तरले मात्र नतिजा तय भएको इतिहासले यस क्षेत्रको संवेदनशीलता अझै बढाएको छ। यो क्षेत्रको चुनावी बहस बुझ्न यहाँको राजनीतिक इतिहास हेर्नु अनिवार्य हुन्छ। २०४८ सालयता भएका सातवटा संसदीय निर्वाचनमा भक्तपुर-२ बाट कुनै पनि नेता निरन्तर संसद्मा पुगेका छैनन्। कहिले कांग्रेस, कहिले नेमकिपा, कहिले एमालेले जित हात पारेका छन्। यसले देखाउँछ कि यहाँका मतदाताले दलभन्दा पनि उम्मेदवार, परिस्थिति र सन्देश हेरेर मत दिने प्रवृत्ति राख्छन्। यही कारणले भक्तपुर-२ लाई स्थायी ‘किल्ला’ भन्दा पनि परिवर्तनशील राजनीतिक मैदान मानिन्छ।
२०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भए। यो निरन्तर परिवर्तनले यहाँका मतदाताको राजनीतिक सचेतनालाई पुष्टि गर्छ। यही इतिहासको पृष्ठभूमिमा २०८२ को निर्वाचन झन चासोपूर्ण बनेको छ।
यसपटकको चुनावी मैदानमा ५ जना मुख्य उम्मेदवार केन्द्रमा छन्। नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्वसांसद महेश बस्नेत, नेपाली कांग्रेसबाट पत्रकार पृष्ठभूमिका कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार तथा युट्युबरका रूपमा परिचित राजीव खत्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ र नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य उम्मेदवार छन्। रोचक कुरा के छ भने यी सबै उम्मेदवार ५० वर्षमुनिका छन्, जसले यो चुनावलाई पुस्तान्तरणको बहससँग पनि जोडिदिएको छ।
यस क्षेत्रमा १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। उज्यालो नेपाल पार्टीका जितराम लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम थापा, आम जनता पार्टीकी देवकुमारी शाहले उम्मेदवारी दिएका छन् ।
अन्नपूर्णबाट

नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई जिताउनु पर्छ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई अत्याधिक बहुमतले गराउ
नेमकिपाका उम्मेदवार हरुलाइ जिताउन जरुरी छ ।