सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुरमा चारपक्षीय कडा भिडन्त : सबै दलको दाबी: ‘जित हाम्रो नै’

भक्तपुरमा चारपक्षीय कडा भिडन्त : सबै दलको दाबी: ‘जित हाम्रो नै’

भक्तपुर। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूको गतिविधि तीव्र बनेको छ। परिचालन समिति गठन, घोषणापत्र तयारी, उम्मेदवारको प्रचार सामग्री निर्माणदेखि घरदैलो र प्रशिक्षण कार्यक्रमसम्म दलहरू आक्रामक रूपमा मैदानमा उत्रिएका छन्। सबै प्रमुख दलले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै चुनावी माहोल तताउँदै गएको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई ले पार्टीको ५२औं स्थापना दिवससँगै चुनावी तयारी तीव्र बनाइएको बताउँदै जनताको समर्थन फेरि प्राप्त हुनेमा विश्वस्त रहेको बताए।

“पार्टीको ५२औं स्थापना दिवससँगै परिचालन समिति, घोषणापत्र तयारी, उम्मेदवारको प्रचार सामग्री बनाउने काम भएको छ। नेमकिपालाई नै विजयी बनाउनुपर्ने कारणबारे प्रशिक्षण, अन्तर्क्रिया चलिरहेको छ। पार्टीले विगतदेखि गर्दै आएको काम, संस‌द्मा सशक्त प्रतिपक्षीको भूमिका, भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाएर सुसंस्कृत समाज निर्माण गर्नेलगायत थुप्रै विषय प्रस्ट्याउँदै अन्तक्रिया, प्रशिक्षण, घरदैलो चलिरहेको छ। जनताले दुवै क्षेत्रमा मत दिएर विजयी बनाउँछन् भन्नेमा विश्वस्त छौं, तर त्योभन्दा पनि हामीले के गर्‍यौं र के गर्दै छौं भन्ने कुरा बुझाउने, एजेन्डाहरू प्रस्ट्याउने कुरालाई नै प्राथमिकतामा राखेका छौं।”

नेकपा (एमाले) भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले यसपटक अघिल्लोपटकको कमजोरी सच्याएर धेरै मतान्तरले जित्ने दाबी गरे।
“भक्तपुर १ मा विगतमा भन्दा बलियो उपस्थिति जनाएर प्रतिस्पर्धा गर्दै जित्ने योजनामा छौं। २ नम्बर क्षेत्र आफ्नै आन्तरिक व्यवस्थापनको कमजोरी र गठबन्धनसँगको प्रतिस्पर्धाले गर्दा अघिल्लोपटक हाऔं, तर यसपटक धेरै मतान्तरले जित्ने रणनीतिसहित अगाडि बढेका छौं। क्षेत्रले अपनत्वबोध नगर्ने, नयाँ च्याँखेदाउ थापेर आएका उम्मेदवारसँग होइन, हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ। तयारीकै सिलसिलामा मेरै संयोजकत्वमा परिचालन समिति बनेको छ, बिहीबार जिल्लास्तरीय भेला हुँदै छ। मतदाता भेटघाटलगायत कार्यक्रम चलिरहेका छन्।”

नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव सुशील बस्नेत ले गठबन्धनका कारण गुमेको विश्वास पुनः संगठित गर्दै जितको निरन्तरतामा जोड दिए। “१ नम्बर क्षेत्रमा १८ हजारसम्म मत ल्याए पनि पछिल्लोपटक गठबन्धन गर्दा जनता रुष्ट भएर मत हराएकाले जित्न सकिएन भने पनि त्यसलाई संगठित गरेर सम्मानजनक कमब्याक गर्ने र जित्ने योजना छ। २ नम्बर क्षेत्रमा जितलाई निरन्तरता दिने गरी योजना बनाएर परिचालित भएका छौं। त्यस क्रममा प्रदेश र नगरको बैठक बसेर नगरस्तरीय समिति पनि बनेका छन्। बदलिएको परिस्थितिमा आन्तरिक पक्ष कमजोर छैन, बलियो बनाएर अघि बढेका छौं। पूर्वसांसद तथा नेता दुर्लभ थापाले बिरामीका बाबजुद पनि फिल्डमा सक्रिय भएर उत्साह भरिरहनुभएको छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला नेता उपेन्द्र केसी ले दुवै क्षेत्र आफ्नो पार्टीले जित्ने दाबी गरे।

“आन्तरिक बैठक बसेर जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव परिचालन समिति बनेको छ। उम्मेदवारलाई आन्तरिक भेटघाट, मतदाता भेटघाटमा केन्द्रित गरिएको छ। हामी उत्साहजनक रेस्पोन्स पाएर माहोल निर्माण गर्दै बढिरहेका छौं। १ नम्बरमा नेमकिपा र २ नम्बरमा एमालेसँग प्रतिस्पर्धाको आकलन भए पनि दुवै क्षेत्र जित्दै छौं।”

नेकपा (माओवादी केन्द्र) तर्फबाट चुनावी परिचालन समिति संयोजक दिलीप प्रजापति ले मुख्य प्रतिस्पर्धा रास्वपासँग हुने दाबी गरे। “२ नम्बर क्षेत्रमा ०७४ मा एमालेसँग सहकार्य गर्दा महेश बस्नेतको जित सम्भव भयो। ०७९ मा गठबन्धनबाट कांग्रेसका दुर्लभ थापा विजयी बन्नुभो। दुवै जित हाम्रै कारणले भए पनि अहिले एक्लै लड्दै छौं, तर कांग्रेसभित्र अन्तर्घातको सम्भावना र एमालेभित्र पनि त्यस्तै अवस्था रहेको परिस्थितिमा हामी एकढिक्का भएर चुनाव लड्दै छौं। त्यसैले बाहिर उहाँहरूको अवस्था राम्रोजस्तो देखिए पनि पार्टीको आन्तरिक रिपोर्टमा हाम्रो प्रतिस्पर्धा रास्वपासँग हुँदै छ। चारपक्षीय प्रतिस्पर्धामा जित्ने योजनामा छौं। क्षेत्र नम्बर १ नेमकिपाले जित्दै आए पनि जनसेवामा संलग्न उम्मेदवारका कारण त्यहाँ पनि राम्रो गर्दै छौं।”

दलहरूको आ–आफ्नै दाबी र तयारीसँगै भक्तपुरका दुवै निर्वाचन क्षेत्र यसपटक चारपक्षीय कडा प्रतिस्पर्धाको केन्द्र बन्ने संकेत देखिएको छ।

नयाँपत्रिकाबाट…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको