काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तोकिएको मितिमा सञ्चालन हुन नसक्ने देखिएको छ।
निर्वाचनका लागि आवश्यक मतपत्र छपाइँ सुरु भएसँगै प्रश्नपत्र छपाइँ प्रभावित हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा मिति सार्ने तयारी गरेको हो।
बोर्डका अनुसार प्रश्नपत्र छपाइँको मुख्य जिम्मेवारी रहेको जनक शिक्षा सामग्री केन्द्र निर्वाचनसम्बन्धी सामग्री छपाइँमा केन्द्रित हुँदा एसईईको तयारीमा ढिलाइ हुने संकेत देखिएको छ। यही कारण परीक्षा तालिका पुनः समायोजन नगरी विकल्प नरहेको बोर्ड स्रोतले जनाएको छ।
यस वर्ष करिब पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा फारम भरेका छन्। परीक्षा ७२ विषयमा देशभर एकैसाथ सञ्चालन हुने भएकाले व्यवस्थापन, सुरक्षा र गोपनीयताको दृष्टिले पनि निर्वाचन र परीक्षा सँगसँगै सञ्चालन गर्न कठिन हुने बोर्डको ठहर छ।
राष्ट्रिय परीक्षा बोर्डले निर्वाचनको मिति, छपाइँ व्यवस्थापन र परीक्षा तयारीको अवस्थालाई समग्र रूपमा मूल्यांकन गरी आगामी बैठकमार्फत नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ। यससँगै परीक्षा तयारीमा जुटिरहेका विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन्।
