भक्तपुर । चाँगुनारायण नगरपालिकाले आ.व. २०८२/०८३ का लागि नगरभित्रका सामुदायिक विद्यालयहरूलाई १६ थरीका अनुदान उपलब्ध गराउने भएको छ ।
नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार तोकिएका शीर्षकहरूमा विद्यालयहरूले कार्ययोजना सहित १५ दिनभित्र अनुदान माग गर्न सक्ने नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले प्रकाशन गरेको सूचनाअनुसार विद्यालयहरूलाई सञ्चालन तथा व्यवस्थापनदेखि लिएर शैक्षिक गुणस्तर सुदृढीकरणसम्म विभिन्न कार्यक्रमका लागि अनुदान दिइनेछ ।
अनुदानका शीर्षकहरूमा सञ्चालन तथा व्यवस्थापन,. विद्यालय सुधार योजना, अभिभावक शिक्षा र अतिरिक्त क्रियाकलाप, आर्थिक तथा सामाजिक लेखा परीक्षण र बुलेटिन प्रकाशन, इन्टरनेट व्यवस्थापन, प्रारम्भिक बालविकास कक्षा, विद्यार्थी मूल्याङ्कन (पोर्टफोलियोसहित), विभिन्न कक्षाका लागि शिक्षण–सिकाइ सामग्री र Book Corner, छात्रा, दलित, लक्षित समूह र अपाङ्ग विद्यार्थीका छात्रवृत्ति, विद्यालय भौतिक पूर्वाधार निर्माण तथा मर्मत,र पुस्तकालय, विज्ञान प्रयोगशाला, ICT ल्याबजस्ता गुणस्तर सुदृढीकरण कार्यक्रमहरू समावेश छन् ।
नगरपालिकाले आधारभूतदेखि माध्यमिक तहका विद्यालयहरूका लागि अनुदान रकम फरक–फरक तोकेको छ । जस्तै, कक्षा १–५ का लागि सञ्चालन तथा व्यवस्थापन अनुदान रु. १५ हजार, कक्षा १–८ का लागि रु. २० हजार, कक्षा १–१० का लागि रु. २५ हजार र कक्षा १–१२ का लागि रु. ३० हजार तोकिएको छ ।
त्यस्तै, इन्टरनेट व्यवस्थापनका लागि वार्षिक रु. १२ हजारदेखि २० हजारसम्म र शिक्षण–सिकाइ सामग्रीका लागि प्रति विद्यार्थी रु. १५० देखि रु. २५० सम्म सहयोग उपलब्ध हुनेछ । छात्रा, दलित, लक्षित समूह र अपाङ्ग विद्यार्थीका लागि छुट्टाछुट्टै छात्रवृत्ति पनि प्रदान गरिनेछ ।
नगरपालिकाले अनुदान माग गर्दा आवश्यक कागजात, कार्ययोजना र विद्यार्थी विवरण संलग्न गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।
अपाङ्ग विद्यार्थीको छात्रवृत्तिका लागि अपाङ्गता परिचयपत्र, फोटो र घरधनी सिफारिस अनिवार्य रहने सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले यसरी हरेक वर्ष अनुदान दिने गरे पनि शैक्षिक गुणस्तरमा सन्ताेषजनक उपलब्धि हासिल गर्न नसकेको शैक्षिक सराेकारवाहरूकाे भनाइ छ ।
#Changunarayan #School #News #Anudaan
