भक्तपुर । भक्तपुरमा फागुन ७ गते वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
सो शिविरको आयोजना भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुलले गर्ने भएको हो । बढ्दो विभिन्न स्वास्थ्य समस्यालाई निराकरण गर्नका लागि सहयोग गर्न तथा स्वास्थ्य सचेतना वृद्धिका लागि उक्त विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा उक्त शिविर सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूले रोम्वस सेकेण्डरी स्कुलको ११ औं स्थापना दिवस तथा रोम्वस नेशनल स्कुल, इथाचा, ताथलीको दोस्रो वार्षिकोत्सवको अवसरमा वृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनले सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय सेवा क्षेत्रका स्थानीय, विद्यालयका शुभेच्छुक तथा विभिन्न स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिहरुलाई उक्त शिविरमा सहभागी हुन अनुरोध समेत गरे ।
चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीको इथाचामा आफ्नो विस्तारित शाखा विस्ता गरेको रोम्वस नेशनल स्कुल परिसरमा उक्त वृहत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उनको भनाए छ ।
सो शिविरका लागि यशस्वी समाज र डा. इवामुरा अस्पतालको प्राविधिक सहयोग रहने विद्यालयले जनाएको छ । उक्त शिविरमा दन्त, आँखा, नाक, कान, घाँटी, सुगर, प्रेशरलगायतको स्वास्थ्य जाँच हुनेछ भने निः शुल्क औषधी वितरण समेत हुने भएको छ ।