भक्तपुर । भक्तपुरको चाँगुनारायणमा अवैध रुपमा माटो ओसारपसार बढेको छ । नगरपालिकाको अधिकांश ठाउँहरुबाट सेटिङमा माटो ओसारपसार भइरहेको छ । यो कामलाई स्थानीयले माटोको तस्करी भएको जनाएका छन् ।
वडाका विभिन्न ठाउँमा जथाभावी खन्दै माटो तस्करी गरेपछि स्थानीयले सो विषयमा विगत लामो समयदेखि आवाज उठाइरहेका छन् । तर पनि उक्त काम रोकिएको छैन । पछिल्लो समय चाँगुनारायण नगरपालिका विशेष गरी वडा नं १, २, ३ र ५, ८ र ९ वडामा अवैध रुपमा माटो ओसारपसार हुने गरेको स्थानीयको भनाइ छ । व्यवसायीहरुले घरजग्गा सम्याउने नाममा नगरपालिकाबाट ५/६ वटा गाडीको स्वीकृत लिई ४०/५० वटा गाडीबाट माटो ओसारपार गर्ने गरिएको स्थानीयको दावी छ ।
यही दावीका बीच अवैध रुपमा माटो बोक्दै गरेको अवस्थामा ९ वटा टिपर नियन्त्रण लिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, भक्तपुर नेतृत्वको टोलीले अवैध रुपमा माटो बोक्दै गरेको अवस्थामा चाँगुनारायण नगरापालिका वडा नं ५ बाट ९ वटा टिपर नियन्त्रण लिएको हो । अवैध रुपमा माटो असारपसार हुने गरेको भन्दै स्थानीयको विरोधपछि कार्यालयले नगरापालिकासँगको सहकार्यमा छड्के अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी भण्डारीले अवैध रुपमा माटो असारपसार हुने गरेको सूचना पाएपछि नगरपालिकासँगको सहकार्यमा छड्के अनुगमन गरेको जानकारी दिए । सो क्रममा ९ वटा टिपर नियन्त्रणमा लिई नगरापालिकालाई जिम्मा लगाइएको उनले बताए ।
चाँगुनारायण नगरापालिकाका शाखा अधिकृत/सूचना अधिकारी अनुप लामिछानेले पनि जिल्ला प्रशासन कार्यालय र नगरको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा ९ वटा टिपरले स्वीकृति विना माटो असारपसार गरेको पाइएपछि नियन्त्रण लिएको स्वीकार गरे । उनले आज शुक्रबार भएकाले टिपर साँचो नियन्त्रण लिइ राखिएको र आइतबार थप छलफलपछि आर्थिक ऐनमा व्यवस्था गरिएको बमोजिक जरिवाना हुने बताए ।
आर्थिक ऐनमा स्वीकृति विना माटो बालुवा असारपसार गरेको पाइए निसान गार्डीलाई २८ हजार, टिपरलाई ४३ हजार र डोजरलाई ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
अवैध माटो ओसारपसारका विषयमा स्थानीय जनप्रतिनिधिका साथै प्रहरी प्रशासन पनि अनविज्ञ भने छैन् । तर पनि प्रहरी र जनप्रतिनिधिलाई हातमा लिई यस्ता क्रियाकलाप हुने गरेको स्थानीयको आरोप छ ।