बनेपा । लामो समयदेखि अर्थ–राजनीतिमा कलम चलाउँदै प्राध्यापन क्षेत्रमा सक्रिय के.जी. बैदार लिखित पुस्तक ‘भुद्रङ’ विमोचन गरिएको छ ।
काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका बैदारको उक्त पुस्तक विशेषतः बनेपाको इतिहास, धर्म र संस्कृतिसँग सम्बन्धित छ । उक्त पुस्तकले बनेपाको इतिहास उजागर गरेको छ ।
बनेपाको पुरातात्विक विशेषताका विषयहरु समावेश लेखहरुको संग्रहको रुपमा रहेको ‘भुद्रङ’ को शनिबार काभ्रे बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा वागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, इतिहासकार ओमप्रसाद धौभडेल, सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थलगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा वागमती प्रदेश सभा सदस्य बादेले केजी बैदारको पुस्तकबाट प्राचीनकालमा बनेपा नेवार समुदायको बसोबास भएको शहर रहेको पुष्टि गरेको भन्दै इतिहासमा रुची राख्नेहरुका लागि पुस्तक महत्वपूर्ण रहेको बताए । बनेपामा पनि गणेश र भैरवका मन्दिर र मुर्तिहरु धेरै रहेको पुस्तकमा उल्लेख रहेको भन्दै शहरमा भएका विकासमा नेवार समुदाय सधैं अघि रहेको उनको भनाइ छ ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शाक्यले लेखक बैदारको प्रयासलाई बनेपालीले गौरव गर्नुपर्ने बताउँदै इतिहास र संस्कृतिको जगेर्नामा नगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइको आयोजनामा भएको सो कार्यक्रममा समाजसेवी रामराजा धौभडेलले लेखक बैदारको परिचय दिँदै पुस्तकमा उल्लेख गरिएका विषयको चर्चा गरे भने इतिहासकार ओमप्रसाद धौभडेलले कृतिबारे समीक्षा गर्दै पुस्तकमा भएका कमीकमजोरी सुधार्न सल्लाह दिए ।
लेखक बैदारले बनेपासँग जोडिएको इतिहास, संस्कृति र धर्मबारे आफ्नो अध्ययन, खोजले तयार गरेको लेखहरुको पुस्तक पूर्ण नहुन सक्ने भन्दै त्यसमा सल्लाह, सुझाव र टिप्पणी गरिदिन अनुरोध गरे । उनले स्वर्गीय ज्ञानकाजी मानन्धरबाट आफू प्रेरित भएर पुस्तक लेखेको बताए । पुस्तकको दोस्रो भाग पनि प्रकाशित गर्ने तयारीमा रहेको सो अवसरमा उनले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थले बैदारको नयाँ पुस्तकले बनेपाबारे अध्ययन गर्नेहरुका लागि नयाँ खुराक मिलेको बताए ।