सोमवार, जेष्ठ ११, २०८३

20.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
20.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीकाभ्रेको कवि गोष्ठीमा कवि देउजाको प्रश्न, ‘देशका लागि जुट्ने बेला भएन र...

काभ्रेको कवि गोष्ठीमा कवि देउजाको प्रश्न, ‘देशका लागि जुट्ने बेला भएन र ?’

काभ्रे । कविता शब्दको खेलमात्र होइन, समयको ऐना पनि हो । जब समाज अन्योल, निराशा र अस्थिरताबीच अल्झिरहेको हुन्छ, त्यही बेला कविताले प्रश्न गर्छ, झकझक्याउँछ र लुकेको पीडालाई स्वर दिन्छ । प्रगतिशील लेखक सङ्घ काभ्रेद्वारा आयोजित नियमित कवि गोष्ठीमा पनि यस्तै अनुभूति देखियो ।

साहित्यिक माहोलले भरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार नर्मदेश्वरी सत्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने यसपटक “स्रष्टा विशेष” का रूपमा कवि रामसुन्दर देउजा केन्द्रमा रहे । सभाहलभित्र कविता, विचार, व्यथा र चेतनाका स्वरहरू एकपछि अर्को गरी गुन्जिरहेका थिए ।

कार्यक्रममा नवराज उत्साही, मुरहरी रायमाझी हरि, दिनेश खरेल, सरस्वती चिमोरिया, बलराम बिस्ट, शुसिला बिस्ट, यदुनाथ देउपुरे, हरिप्रसाद चौलागाईं, शारदाप्रसाद धिताल, अल्फि फोइन फालुक्पा, पूर्ण श्रेष्ठ ह्रदयाङ्कृत लगायतका कविहरूले आफ्ना सिर्जना वाचन गरे । कसैले समाजका विकृति बोले, कसैले प्रेम र पीडा, त कसैले समयको असहज यथार्थलाई कवितामा उतारे ।

तर कार्यक्रमको केन्द्रमा रहे कवि रामसुन्दर देउजा । उनले वाचन गरेको “मेरो झण्डा” कविताले देशको अवस्थामाथि एउटा तीखो प्रश्न उठायो । राष्ट्रिय स्वाभिमान खिइँदै गएको, आदर्श सम्झौतामा हराउँदै गएको र जनताको आशा क्रमशः कमजोर बन्दै गएको अवस्थालाई उनले प्रतीकात्मक शैलीमा प्रस्तुत गरे ।

जब उनले कविता वाचन गर्दै भने—

“त्रिशूलको रगतले पोतिएको मेरो झण्डा
किनाराको शान्ति भत्काउँदै छ आज
सगरमाथामा शिर उच्च पार्ने मेरो झण्डा
दिनदिनै होचिँदैछ आज !”

सभाहल केही क्षण मौन बन्यो । कविता सुन्न आएका धेरै अनुहारमा गम्भीरता देखिन्थ्यो । कविता केवल सुन्ने विषय रहेन, अनुभूत गर्ने विषय बन्यो ।

त्यसपछि उनले अर्को प्रश्न फ्याँके, कविता मार्फत नै—

“देश दुखेको क्षण
आँशु सुकेको मन
बुद्धको ध्यान छुट्ने बेला भएन र
देशका लागि जुट्ने बेला भएन र ?”

यी हरफहरूले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई केवल भावुक मात्र बनाएनन्, आत्ममन्थन गर्न बाध्य पनि बनाए । कविताले देशको वर्तमान अवस्था, डर, असुरक्षा र मौनताको चित्र कोरेको थियो ।

प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले प्रस्तुत कवितामाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्य समाज परिवर्तनको चेतनाशील माध्यम भएको बताइन् । उनले कविता मनोरञ्जन नभई समयसँग संवाद गर्ने शक्तिशाली विधा भएको धारणा राखिन् । यस अवसरमा उनले आफ्नो चर्चित कविता “देशसँगै पोलिए म” समेत वाचन गरिन् ।

कार्यक्रमको अर्को विशेष पक्ष थियो, ‘हरिमाया–पदमनिधी साहित्य पुरस्कार’ को घोषणा । अग्रज पत्रकार तथा कवि यदुनाथ देउपुरेले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्ने घोषणा गरे । आगामी जेठ महिनामा पुरस्कार प्रदान गरिने जनाइएको छ भने त्यसका लागि तीन सदस्यीय छनोट समिति समेत गठन गरिएको छ ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घले प्रमुख अतिथि नर्मदेश्वरी सत्याललाई सम्मान गरेको थियो भने स्रष्टा विशेष रामसुन्दर देउजालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यतिर अध्यक्ष रक्तिम लामाले साहित्यप्रेमी, सहभागी तथा हल उपलब्ध गराउने नेपाल शिक्षक सङ्गठनप्रति धन्यवाद व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको