सोमवार, चैत्र २, २०८२

11.1 C
Bhaktapur
सोमवार, चैत्र २, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायणमा अवैध माटो उत्खनन र इट्टा भट्टा तत्काल रोक्न माग, नत्र आन्दोलन

चाँगुनारायणमा अवैध माटो उत्खनन र इट्टा भट्टा तत्काल रोक्न माग, नत्र आन्दोलन

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको चाँगुनारायण नगर समितिले चाँगुनारायण नगरपालिका भित्र पछिल्लो समय अवैध रूपमा भइरहेको माटो र बालुवा उत्खनन तथा मापदण्डविपरीत सञ्चालन भइरहेका इट्टा भट्टाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

नगर समितिका सभापति रोशन थापाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नगरका विभिन्न स्थानमा रातको समयमा समेत खुलेआम माटो र बालुवा उत्खनन तथा ढुवानी भइरहेको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले बारम्बार अवैध उत्खननको विषय उठाइरहे पनि त्यसलाई रोक्न प्रभावकारी कदम नचालिएको आरोप लगाइएको छ। यस्ता गतिविधि राजनीतिक संरक्षण, प्रशासनिक बेवास्ता तथा नियामक निकायहरूको कमजोरी बिना सम्भव नहुने भन्दै पार्टीले सम्बन्धित निकायहरूको भूमिकामाथि प्रश्न उठाएको छ।

पार्टीका अनुसार अवैध उत्खननका कारण स्थानीय वातावरणमा नकारात्मक असर परेको छ भने धुलो, प्रदूषण र सडक क्षतिका कारण स्थानीय बासिन्दाको जनजीवनसमेत प्रभावित भइरहेको छ। साथै नगर क्षेत्रमा सञ्चालन भइरहेका केही इट्टा भट्टाहरूले वातावरणीय मापदण्ड, कानुनी प्रक्रिया तथा स्थानीय समुदायको हितलाई बेवास्ता गर्दै सञ्चालन भइरहेको गम्भीर आरोप पनि उठाइएको छ।

यस सन्दर्भमा पार्टीले चार बुँदे माग अघि सारेको छ। जसअनुसार नगरभित्र भइरहेको अवैध माटो तथा बालुवा उत्खनन र ढुवानी तुरुन्त बन्द गराई संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाही गर्न, वातावरणीय मापदण्ड नपुगेका इट्टा भट्टाको छानबिन गरी अवैध रूपमा सञ्चालन भएका भट्टा बन्द गर्न, यस्ता गतिविधिमा राजनीतिक वा प्रशासनिक संरक्षण भए त्यसको निष्पक्ष छानबिन गर्न तथा प्राकृतिक स्रोत संरक्षण र वातावरणीय सुरक्षाका लागि नियमित अनुगमन प्रणाली स्थापना गर्न माग गरिएको छ।

सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम नचाले पार्टी नागरिकसँग मिलेर चरणबद्ध आन्दोलन र जनदबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै चाँगुनारायणको वातावरण, प्राकृतिक स्रोत र भविष्य संरक्षणको अभियानमा साथ दिन स्थानीय नागरिक, युवा, बुद्धिजीवी, सामाजिक संघ–संस्था र सञ्चारकर्मीलाई समेत आह्वान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको