भक्तपुर । यस वर्षको स्वन्ति नखाः (तिहार) भक्तपुरमा कार्तिक २२ गतेदेखि २४ गतेसम्म मनाइने भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको सरोकारवालासहितको छलफलले तान्त्रिक विधि र तिथिका आधारमा लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा गर्ने मिति तय गरेको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कार्तिक १३ गते बसेको बैठकले कार्तिक २२ गते आइतबार लक्ष्मी पूजा, २३ गते सोमबार म्हः पूजा र २४ गते मंगलबार किजा पूजा मनाउने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार कार्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ दीपावलीसहित लक्ष्मी पूजा गरिनेछ। त्यसैगरी, कार्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि सुरु हुने भएकाले साँझ म्हः पूजा मनाइनेछ।
त्यस्तै, कार्तिक २४ गते मंगलबार दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ किजा पूजा अर्थात् भाइटीका मनाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
यस वर्ष विभिन्न पात्रो तथा सरोकारवालाबाट लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा फरक–फरक मितिमा मनाउनेसम्बन्धी सूचना सार्वजनिक भएपछि सर्वसाधारणमा अन्योल सिर्जना हुन सक्ने भन्दै नगरपालिकाले सरोकारवालासँग छलफल गरेको थियो।
छलफलमा भक्तपुर तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।
बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पुजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी तथा नवदुर्गा देवगण एवं जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो।
नगरपालिकाले गरेको निर्णयसँगै भक्तपुरमा स्वन्ति नखाः मनाउने मितिबारे देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ।
