भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (BEE) र माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दुवै परीक्षामा GPA ४ प्राप्त गर्न सफल मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिकाबाट सम्मानित भएको छ।
कक्षा ८ को BEE र कक्षा १० को SEE दुवै परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्नुका साथै दुवै तहमा GPA ४ प्राप्त गर्न सफल चाँगुनारायण नगरपालिकाभित्रको एक मात्र विद्यालय मित्रश्री पाठशाला रहेको विद्यालयले जनाएको छ।
नगरपालिकाद्वारा आयोजित सम्मान समारोहमा SEE परीक्षामा GPA ४ प्राप्त गर्ने मित्रश्री पाठशालाका विद्यार्थी अमीर थिङ तथा BEE परीक्षामा GPA ४ प्राप्त गर्ने रोज बस्नेतलाई समेत सम्मान गरिएको थियो।
सम्मान समारोहमा आफ्नो अनुभव सुनाउँदै विद्यार्थी रोज बस्नेतले सफलताका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमाथि विश्वास गर्नु र डरलाई जित्नु रहेको बताइन्। उनले आफ्नो उपलब्धिको श्रेय विद्यालय, शिक्षक तथा अभिभावकलाई दिँदै उनीहरूको सहयोग र मार्गदर्शनले आफूलाई यो सफलतासम्म पुर्याएको उल्लेख गरिन्।
समारोहमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी र शिक्षा शाखा प्रमुख जनार्दन रिजालले मित्रश्री पाठशालाका प्रिन्सिपल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सम्मानित विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा नगरपालिकाभित्रका GPA ४ प्राप्त गर्ने अन्य विद्यार्थी, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यालयको निरन्तर मेहनत, प्रभावकारी शिक्षण सिकाइ, शिक्षकहरूको समर्पण, विद्यार्थीको लगनशीलता र अभिभावकको सहयोगबाट प्राप्त यस सफलताले मित्रश्री पाठशालाको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई थप उजागर गरेको छ।
भक्तपुरमा उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलापको केन्द्रका रूपमा स्थापित विद्यालयलाई यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न थप ऊर्जा, प्रेरणा र जिम्मेवारी प्रदान गरेको विद्यालयका प्रिन्सिपल दीपक विष्टले बताए।
