शुक्रबार, कार्तिक १४, २०८३

15.1 C
Bhaktapur
शुक्रबार, कार्तिक १४, २०८३
15.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेष८० वर्ष पुरानो विद्यालयको प्राङ्गणमा पुस्तक प्रदर्शनी

८० वर्ष पुरानो विद्यालयको प्राङ्गणमा पुस्तक प्रदर्शनी

भक्तपुर। इतिहास, शिक्षा र ज्ञानको लामो विरासत बोकेको भक्तपुरको करिब ८० वर्ष पुरानो विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पुस्तक प्रदर्शनी आयोजना गरिएको छ। रोटरी क्लब अफ भक्तपुरको आयोजनामा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ ले पुरानो शैक्षिक थलोमा पठन संस्कृतिको नयाँ बहस र अभियानलाई जोडेको छ।

भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक परिवेशमा रहेको विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गर्नुभएको थियो। भक्तपुरको दरबार क्षेत्रमा रहेको उक्त विद्यालय वि. सं. २००४ सालमा स्थापना भएको हाे । प्रदर्शनीमा विभिन्न विधा र भाषाका पुस्तकहरू राखिएका छन्। पुस्तक अवलोकन तथा खरिदसँगै साहित्यिक, शैक्षिक र बौद्धिक गतिविधिहरूलाई पनि प्रदर्शनीको अभिन्न अङ्ग बनाइएको छ।

प्रदर्शनीमा पुस्तक विमोचन, लेखकसँग प्रत्यक्ष अन्तरक्रिया, कविता तथा गजल वाचन, चित्रकला प्रतियोगिता र समसामयिक विषयमा विचारविमर्शका कार्यक्रम समावेश छन्। दोस्रो दिन ‘ख्वपमा गजल’ वाचन तथा ‘भक्तपुर : हिजो, आज र भोलि’ विषयमा छलफल आयोजना गरिएको छ। अन्तिम दिन ‘नेपालमा शिक्षक शिक्षा र आधुनिकीकरणमा नयाँ आयाम’ तथा ‘पठन संस्कृति : किन र कसरी ?’ विषयमा अन्तरक्रिया हुनेछ।

पुस्तक प्रदर्शनीमा परम्परागत नेवारी मौलिक परिकारका स्टलसमेत राखिएका छन्। यसले पुस्तक, साहित्य, स्थानीय संस्कृति र मौलिक पहिचानलाई एउटै थलोमा जोड्ने प्रयास गरेको छ।

करिब आठ दशक लामो शैक्षिक इतिहास बोकेको विद्यालयको प्राङ्गणमा आयोजित यस प्रदर्शनीले विगतको शैक्षिक विरासत र वर्तमान पुस्ताको पठन संस्कृतिबीच सम्बन्ध स्थापित गर्ने सन्देश दिएको छ। पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको गुनासो भइरहेका बेला यस्ता गतिविधिले विद्यार्थी तथा नयाँ पुस्तालाई पुस्तकतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिका अनुसार प्रदर्शनीको उद्देश्य पुस्तकको प्रदर्शन र बिक्रीमा मात्र सीमित नभई पठन संस्कृतिको विकास, ज्ञानको आदानप्रदान र सिर्जनात्मक गतिविधिको प्रवर्द्धन गर्नु हो।

प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको